‘अटोमोबाइल क्षेत्र नेपाली अर्थतन्त्रको मेरुदण्ड’

मिथिला । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको बताएका छन् । धनुषाको ढल्केबरमा आयोजित जानकी अटोमोबाइल एसोसिएसन अफ नेपालको प्रथम साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष दुलालले यातायात क्षेत्रको विकास बिना अन्य क्षेत्रको विकास सम्भव नरहेको बताए ।

‘नेपालको आर्थिक समृद्धिका आधारहरु कृषि, वन, पर्यटन र ऊजौ नै हुन्,’ अध्यक्ष दुलालले भने, ‘तर यातायात क्षेत्रको विकास बिना ती क्षेत्रहरुको विकासको कल्पना पनि गर्न सकिदैन ।’ अटोमोबाइल क्षेत्र राज्यलाई सर्वाधिक राजश्व प्रदान गर्ने क्षेत्र रहेको स्मरण गराउँदै अध्यक्ष दुलालले सबैभन्दा बढी पारदर्शिता कायम भएको व्यवसाय पनि अटोमोबाइल नै रहेको जिकिर गरे ।

कोरोना महामारीबाट बच्न निजी सवारी साधनको प्रयोग र खरिद तथा बिक्री बढेसँगै यस क्षेत्रबाट राजश्वमा योगदान पनि बढेको दुलालले बताए । ‘आगामी दिनमा अटोमोबाइल क्षेत्रबाट राजश्वमा अझै बढी योगदान पुग्ने देखिन्छ,’ उनले भने । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत विद्युतीइ सवारी साधनहरुमा लाग्ने अन्तशुल्क घटाएका कारण विद्युतीय सवारी साधनहरुको बिक्री बढ्दै जाने उनले विश्वास व्यक्त गरे ।

आर्थिक वर्ष २०७८/७९ को प्रतिस्थापन बजेटले नेपालमा सवारी साधन उत्पादन गर्ने उद्योगले सवारी साधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन बिक्री गर्दा लाग्ने अन्तशुल्क महशुलमा ५० प्रतिशत छुट दिने व्यवस्थाले अब नेपालमै चार पाँग्रे र दुई पाँग्रे सवारी उत्पादन हुने ढोका खुलेको दुलालले बताए ।

You might also like

Comments are closed.