‘व्यापार सहजीकरण र लजिस्टिक्स लागत नघटेसम्म अर्थतन्त्र बलियो हुन सक्दैन’

नरेश कुमार अग्रवाल, वरिष्ठ उपाध्यक्ष, नेपाल फ्रेट फरवार्डस एसोसिएसन

नेपाल फ्रेट फरवार्डस एसोसिएसन (नेफा) ले साउन १३ (जुलाई २९) मा ३२औं कार्गो दिवस मनाएको छ । EFFICIENT LOGISTICS – STRONGER ECONOMY  मूल नाराका साथ मनाइएको कार्गो दिवसको अवसरमा संघका वरिष्ठ उपाध्यक्ष एवं ३२औं कार्गो दिवसका संयोजक नरेश कुमार अग्रवालसँग नेपालको लजिस्टिक्स क्षेत्रका वर्तमान चुनौती, नीतिगत जटिलता र कार्गो दिवसको औचित्यबारे गरिएको कुराकानीको सम्पादित अंश :

नेफाले ३२औं कार्गो दिवस कसरी मनाउनु भयो ?
हामीले प्रत्येक वर्ष जुलाई २९ लाई ‘कार्गो दिवस’का रूपमा मनाउँदै आएका छौँ । यसै निरन्तरतास्वरूप यस वर्ष साउन १३, २०८३ (जुलाई २९, २०२६) मा काठमाडौंको द सोल्टी काठमाडौंमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँज्यूको प्रमुख आतिथ्यतामा ३२औं कार्गो दिवस सम्पन्न भएको छ । यस पटकको मुख्य नारा EFFICIENT LOGISTICS – STRONGER ECONOMY  तय गरिएको थियो । कार्यक्रममा कतार एयरवेज कार्गो र थाई एयरवेज कार्गो प्लाटिनम स्पोन्सरका रूपमा छन् भने विभिन्न एयरलाइन्स, बन्दरगाह, सिपिङ लाइन्स र व्यावसायिक संस्थाहरूको पनि सहयोग रहेको थियो ।

सुरुवाती दिन र अहिलेको कार्गो दिवसमा कत्तिको भिन्नता पाउनु भयो ?
सुरुका दिनमा यो नेफाका सदस्यहरू वर्षमा एकपटक भेला भएर सुख–दुःख साट्ने र सपरिवार नेटवर्किङ गर्ने एउटा वार्षिक उत्सव मात्र थियो । तर, तीन दशकभन्दा बढी समयको निरन्तरतासँगै आज यो नेपालको समग्र लजिस्टिक्स तथा फ्रेट फरवार्डिङ क्षेत्रको सबैभन्दा प्रतिष्ठित रणनीतिक मञ्च बनिसकेको छ ।

अहिले यो दिवसमा नेपाल सरकारका विभिन्न मन्त्रालय, विभागका उच्च अधिकारी, आयातकर्ता, निर्यातकर्ता, उद्योगी, बैंक तथा बीमा क्षेत्र, एयरलाइन्स, सिपिङ लाइन्स र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि एकै ठाउँमा आउँछन् । यहाँ लजिस्टिक्स क्षेत्रका चुनौती, पूर्वाधार विकास, व्यापार सहजीकरण, आधुनिक प्रविधिको प्रयोग र नीतिगत सुधारका विषयमा सरकार र निजी क्षेत्रबीच प्रभावकारी संवाद हुन्छ ।

यस वर्ष कार्गो दिवसका मुख्य आकर्षण के थिए ?
कार्यक्रममा नीतिगत छलफलका साथै योगदानकर्ताहरूलाई सम्मान गर्ने परम्परा छ । यस वर्ष पनि NEFFA Annual Award अन्तर्गत नेफा सदस्य तथा सरकारी/गैरसरकारी निकायलाई लजिस्टिक्समा पु¥याएको योगदानका आधारमा अवार्ड प्रदान गरेका छौं । सन् २०२५ मा नेपालबाट सबैभन्दा बढी कार्गो बोक्ने अनलाइन एयरलाइन्स (प्रथम, द्वितीय, तृतीय) र अफलाइन एयरलाइन्स (प्रथम) लाई सम्मान गरेका छौं ।
लामो समय यस क्षेत्रमा काम गरेका कर्मचारीलाई सम्मान पत्र र सहयोगी साझेदारलाई कदरपत्र प्रदान गरेका छौं । यसबाहेक लजिस्टिक्ससम्बन्धी भिडियो डकुमेन्ट्री प्रस्तुति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागीबीच अनुभव आदान–प्रदान गरिएको थियो ।

नेपालमा व्यापार गर्दा लजिस्टिक्स लागत निकै उच्च छ भनिन्छ, यसका मुख्य कारण के हुन् ?
हो, नेपालको निर्यात बढाउन र समग्र अर्थतन्त्र सुदृढ गर्न लजिस्टिक्स लागत घटाउनु नै हाम्रो मुख्य आवश्यकता हो । तर, दुर्भाग्यवश यो घट्न सकेको छैन । यसको पहिलो कारण आयात र निर्यातबीचको ठूलो असन्तुलन हो । कलकत्ता वा विशाखापट्टनमबाट सामान ल्याउँदा रेल वा रोड दुवैमा हामीले दुवैतर्फ (Two–Way)को भाडा तिर्नुपर्ने बाध्यता छ, किनकि यताबाट सामान फर्काउन सकिँदैन ।

दोस्रो समस्या, सिपिङ लाइन्सहरूसँग सम्बन्धित छ । विदेशी सिपिङ लाइन्सहरू नेपालमा आएर काम गर्छन्, तर उनीहरू यहाँ दर्ता छैनन् र नेपालको कानुन मान्दैनन् । उनीहरूले स्थानीय मुद्रामा पेमेन्ट लिँदैनन् । जबसम्म उनीहरूलाई नेपालको सार्वभौम क्षेत्रभित्र काम गरेबापत अनिवार्य दर्ता गराइँदैन र लोकल करेन्सीमा भुक्तानी लिने वातावरण बनाइँदैन, तबसम्म लागत घट्दैन ।

हामीले प्रयोग गरिरहेका समुद्री र हवाई मार्गको अवस्था कस्तो छ ?
समुन्द्री बाटोमा अहिलेसम्म हामीलाई कलकत्ता/हल्दिया र विशाखापट्टनम मात्र दिइएको छ । विशाखापट्टनम टाढा भएकाले रेलबाट मात्र सामान आउँछ । थप दुई बन्दरगाह (धामरा र मुन्द्रा) को कुरा चलेकोमा धामरालाई कोइला डिपो बनाइएकाले कन्टेनरका लागि उपयोगी भएन, मुन्द्रा अझै प्राप्त भएको छैन ।

हवाई मार्गको कुरा गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियस्तरको पूर्वाधार नै छैन । व्यवसायीका लागि बाहिर पार्किङ र सामान लोड–अनलोड गर्ने स्पेस छैन । एयरलाइन्सहरूका लागि ‘कार्टिङ अटो सिस्टम’ बनाइनुपर्छ । अर्कातर्फ, उत्तरी नाका खोलिए पनि त्यहाँको स्पष्ट कार्यविधि नहुँदा र चाइनिज काउन्टरपार्टको चासो र सहयोग नहुँदा हामीले सहज कारोबार गर्न सकेका छैनौँ ।

बीमा र ऐन–कानुनको क्षेत्रमा कस्ता समस्या देख्नुभएको छ ?
अहिले गाडीको र सामानको मात्र बीमा हुन्छ । तर, सामान ढुवानी हुने करोडौँको ‘कन्टेनर’ (इक्विपमेन्ट) को बीमा गर्ने व्यवस्था नै छैन । अनलोड गर्दा वा दुर्घटना हुँदा कन्टेनरमा क्षति पुगे त्यसको जिम्मेवारी कसले लिने ? त्यस्तै, हामीसँग’Cargo Legal Liability Insurance’ छैन । सामान लोड गर्दा कार्टुन खसेर कसैलाई चोट लाग्यो वा तेस्रो पक्षलाई नोक्सानी भयो भने त्यसको कभरेज कसले गर्ने ? अर्कोतर्फ, २०६३ सालतिरै चर्चामा आएको मल्टीमोडल ट्रान्सपोर्ट एक्ट अझै संशोधनको प्रक्रियामै अल्झिएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास बोर्ड (NITDB)लाई अन्य निकायसँग गाभ्ने चर्चा छ, यसलाई नेफाले कसरी हेरेको छ ?
सरकारले खाली ‘खर्च घटाउने’ नाममा गलत निर्णय गर्नु हुँदैन ।NITDB एउटा नियामक निकाय (Regulatory Authority) हो, जसले भारतको ‘ल्यान्डपोर्ट अथोरिटी अफ इन्डिया’ जस्ता समतुल्य संस्थासँग (At Par Capacity) कुरा गर्नुपर्छ । रेगुलेटरलाई नै कम्पनी मोडलमा लगेर गाभ्दा भोलि अन्तर्राष्ट्रियस्तरमा हाम्रो काउन्टरपार्टसँग कुरा गर्ने क्षमता र हैसियत कमजोर हुन्छ । यदि सरकारले लजिस्टिक्स लागत नै घटाउने हो भने हाम्रा आफ्नै २५–३० वटा रेलका ¥याक (डिब्बा)हरू चलाओस् । भारतमा प्राइभेट पार्टीले रेल चलाइरहेका छन् । नेपाल सरकार वा हाम्रै कम्पनीले रेल चलाउन सक्यो भने ट्रान्जिट फास्ट हुन्छ र लागत आफैँ घट्छ । हरेक दुई–दुई वर्षमा ड्राइपोर्टको भाडा १० प्रतिशत बढाउने परिपाटी पनि रोकिनुपर्छ ।

अन्त्यमा, के भन्न चाहनुहुन्छ ?
कार्गो दिवस केवल एउटा उत्सव मात्र नभएर नीति–निर्माता र निजी क्षेत्रबीच संवाद सिर्जना गरी सहकार्यको बाटो खोल्ने रणनीतिक मञ्च हो ।

You might also like

Comments are closed.