टिग नास आईटी एक्स्पो २०२५ सम्पन्नः सहकार्य, नवप्रवर्तन र प्रवद्र्धनमा जोड

काठमाडौं । नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (नास आईटी) द्वारा आयोजित ‘टिग नास आईटी एक्स्पो २०२५’ सफलतापूर्वक सम्पन्न भएको छ । कात्तिक २१ र २२ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा दुई दिनसम्म स्वदेशी प्रविधि कम्पनीहरूको प्रदर्शनी सञ्चालन भएको थियो ।

दुई दिनसम्म चलेको एक्स्पोले नेपालको डिजिटल इकोसिस्टम विकासका लागि सहकार्य, नवप्रवर्तन र प्रवद्र्धनमा जोड दिएको नास आईटीले जानकारी दिएको छ । प्रविधि र अवसरबीचको पुल निर्माण गर्न आयोजना भएको एक्सपो भव्यताका साथ समापन भएको नास आईटीका अध्यक्ष गौरव पाण्डेले बताए । ‘एक्सपोमार्फत प्रविधि र अवसरबीचको पुल निर्माण गर्ने उद्देश्य हामीले हासिल गरेका छौं,’ उनले भने,‘यसले नेपालको आईटी उद्योगका लागि नयाँ मापदण्ड स्थापित गरेको छ ।’

एक्स्पोमा उद्यमी, व्यवसायी, सरकारी अधिकारी, विदेशी नियोग तथा बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि, विद्यार्थी लगायत प्रविधिप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो । दुई दिनको अवधिमा २५०० भन्दा बढीले एक्स्पो अवलोकन गरेका छन् । यस एक्स्पोलाई स्वदेशी आईटी प्रविधि तथा सेवालाई प्रवद्र्धन गर्न आयोजना गरिएको नेपालकै एक ठूलो आईटी तथा व्यवसायिक प्रदर्शनीका रूपमा लिइएको छ ।

एक्स्पोमा नयाँ प्रडक्ट लन्च, स्टार्टअप नवप्रवर्तन, सफ्टवेयर सेवाहरूमा विशेष अफर, क्लाउड सोलुसन र डिजिटल उपकरणहरू प्रस्तुत गरिएका थिए । साथै, लाइभ पिच डेक सत्रमार्फत कम्पनीहरूले आफ्ना आइडिया, अफर र सहकार्यका अवसरहरू समेत प्रस्तुत गरेका थिए ।

प्रदर्शनीमा सहभागी कम्पनी रिप्पल बाइट्सले आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्न र अवसर सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खलेको बताउँदै आगामी वर्ष पनि सहभागी हुने पनि बताएको छ । नास आईटीका अनुसार एक्स्पोले नेपालको प्रविधि इकोसिस्टमलाई एकत्रित गर्दै नवप्रवर्तन, उद्यमशीलता र सहकार्यलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सशक्त बनाउने माइलस्टोन रूपमा आफूलाई स्थापित गरेको छ ।

नास आईटीको बारेमा :

नेपाल एसोसिएशन फर सफ्टवेयर एन्ड आईटी सर्भिस कम्पनीज नेपालको अग्रणी गैर–नाफामुखी संस्था हो, जसले देशको आईटी क्षेत्रको विकास, नवप्रवर्तन, सहकार्य र विश्वव्यापी प्रतिस्पर्धात्मकतालाई प्रवद्र्धन गर्दै आएको छ ।

You might also like

Comments are closed.