कात्तिक २१ र २२ गते नास आईटी एक्स्पो २०२५ हुँदै

काठमाडौं । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी) ले आउँदो कात्तिक २१ र २२ गते ‘टिग नास आईटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुने एक्सपोमा विभिन्न आईटी सफ्टवेयर, प्रडक्ट र सेवाहरू प्रदर्शनीमा रहनेछन् ।

स्थानीय प्रविधि र डिजिटल उद्यमशीतालाई प्रवद्र्धन गर्नका लागि पहिलो पटक नास आईटी एक्सपो गर्न लागेको नास आईटीका अध्यक्ष गौरव पाण्डेले बताए । ‘एक्स्पोले नेपालको आईटी कम्पनी, नेतृत्व र लगानीकर्तालाई एउटै प्लेटफर्ममा ल्याएर सहकार्य अवसर र नवीनतम प्रविधिका सम्भावनाहरूमा केन्द्रित हुन सहयोग गर्नेछ,’ आईतबार काठमाडौंमा आयोजित प्रेस मिटमा पाण्डेले भने ।

यस्तै नास आईटीका उपाध्यक्ष दिपेन चापागाईंले एस्पोका लागि आईटी र व्यवसायिक समुदायबाट आएको प्रतिक्रियाबाट निकै उत्साहित भएको बताए । सहकार्य, नवप्रवर्तन र विश्वासको बलमा नेपालको डिजिटल भविष्य निर्माण गर्ने एक्सपो एक ऐतिहासिक माइलस्टोन हुने उनको भनाइ छ ।

नास आईटी एक्स्पोको शीर्ष प्रायोजकमा अकाउन्टिङ सफ्टवेयर टिग रहेको छ । जसअनुसार टिगद्वारा प्रस्तुत नास आईटी एक्स्पो २०२५ को नामबाट एक्स्पो सञ्चालन हुनेछ । परम्परागत प्रदर्शनीभन्दा फरक हुने गरी यस कार्यक्रमलाई व्यवसायिक अवसर, सहकार्य र ब्राण्ड निर्माणको गतिशील मञ्चका रूपमा तयार गरिएको छ । एक्स्पोमा विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल रूपान्तरणमा जोड दिइएको छ ।

नास–आईटी एक्स्पो ५ केवल एक प्रदर्शनी नभएर नेपालका आईटी प्रतिभा र व्यवसायिक अवसरबीचको सेतु भएको नास आईटीकी महासचिव एलिसा श्रेष्ठले बताइन् । एक्सपोमा ३० बढी आईटी सेवा र प्रडक्टहरूको प्रदर्शनी रहनेछ । एक्सपो अवलोकनकर्तालाई विशेष अफरको व्यवस्था समेत गरिएको नास आईटीले जनाएको छ ।

साथै कम्पनीहरूले आफ्ना नवीनतम डिजिटल समाधानहरू सार्वजनिक गर्न र लाइभ पिच सेसनमार्फत आफ्नो सोच देखाउने सक्नेछन् ।एक्स्पोमा उद्यमी, निजी तथा सरकारी क्षेत्रका उच्च अधिकारी, नीति निर्माता, लगानीकर्ता लगायत सूचना प्रविधिमा इच्छुकहरू आउनेछन् । एक्सपो अवलोकन निःशुल्क गर्न सकिनेछ । यसका लागि अनलाइन टिकट https://eventsmo.com/en/event/nas-it-expo-2025 बाट लिन सकिनेछ ।

दुई दिनसम्म चल्ने कार्यक्रममा शीर्ष प्रायोजकमा टिग, सिल्भर प्रायोजकमा इसेवाका साथै ¥यापिड, रिडक्ट, एनसेल बिजनेस, भायानेट कम्युनिकेसन र डेटा वल्र्ड लगायतको सहकार्य रहेको छ । कार्यक्रममा दिगो विकास साझेदारमा ग्लोबल आईएमई बैंक र अर्किङ कलेज रहेका छन् ।

नास आईटीको बारेमा :
नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज नेपालका आईटी कम्पनीहरूको प्रतिनिधित्व गर्ने गैर–नाफामुखी संस्था हो । यसले प्रविधि नवप्रवर्तनलाई प्रोत्साहन गर्दै, बजार सम्पर्क सुदृढ पार्ने र नेपाललाई वैश्विक प्रविधि केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।

You might also like

Comments are closed.