टिगको मुख्य प्रायोजनमा नास–आईटी एक्स्पो २०२५ हुँदै, ३० बढी आईटी कम्पनीको प्रदर्शनी

काठमाडौं । नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास–आईटी) ले टिगको मुख्य प्रायोजनमा नास–आईटी एक्स्पो २०२५ को घोषणा गरेको छ ।

एक्स्पो आगामी नोभेम्बर ७ र ८ मा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना हुने भएको छ । नेपालको प्रविधि क्षेत्रलाई सुदृढ बनाउने दृष्टिकोण राखेर घरेलु बजारलाई उजागर गर्ने र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ नास–आईटी एक्स्पो २०२५ आयोजना गरिएको हो ।

यस एक्स्पोले स्थानीय क्षमतालाई प्राथमिकता दिँदै उद्यमशीलतालाई प्रोत्साहन गर्ने, प्रविधि उद्योगको स्तरोन्नति बढाउने र नेपालको प्रविधि क्षेत्रमा दिगो विकास योगदान गर्ने लक्ष्य राखेको छ । यो नेपालकै पहिलो व्यवसाय केन्द्रित प्रविधि मञ्च हुनेछ । आईटी सेवा प्रदान गर्ने कम्पनीलाई कर्पोरेट क्षेत्र, बैंकिङ र बीमा, उत्पादन, टेलिकम, सरकारी निकाय तथा लगानीकर्ताका प्रमुख निर्णयकर्तासँग प्रत्यक्ष जोड्नु नै यसको मुख्य उद्धेश्य रहेको छ ।

अन्य प्रदर्शनीभन्दा फरक यस कार्यक्रमले विशेषगरी आर्टिफिसियल इन्टेलिजिन्स र डिजिटल रूपान्तरणमा जोड दिँदै व्यवसायिक सहकार्य, सम्झौता र ब्राण्ड निर्माणको केन्द्रका रूपमा आफूलाई स्थापित गर्दैछ । नास–आईटीका अध्यक्ष गौरव पाण्डेले हाम्रो लक्ष्य नेपालको अत्याधुनिक आईटी सोलुसन प्रदर्शन गर्नु, उद्योगसँग सहकार्य गर्नु र प्रविधि विकासले कसरी व्यवसायको भविष्य निर्माण गरिरहेको छ भन्ने देखाउनु रहेको बताए ।

नास–आईटी एक्स्पो २०२५ का मुख्य आकर्षणहरूः
–३० भन्दा बढी आईटी कम्पनीहरूका प्रदर्शनी : व्यवसायलाई अझ प्रभावकारी र दिगो बनाउन गरिएका सेवा र समाधानहरूको विविध प्रदर्शन,
–विशेष अफर र प्याकेजहरू : प्रदर्शकले अवलोकनकर्तालाई विशेष अफर र प्याकेजहरू उपलब्ध गराउने, जसले कार्यक्रममै वास्तविक व्यवसायिक अवसर सिर्जना गर्नेछ,
–पिच डेक र नयाँ समाधानको शुभारम्भ : कम्पनीहरूले आफ्ना नवीनतम डिजिटल समाधान सार्वजनिक गर्ने, प्रत्यक्ष पिच सेसनमार्फत नवप्रवर्तन र व्यावहारिक प्रयोग प्रदर्शन गर्ने,
–लगानीकर्ता र कर्पोरेट नेटवर्किङ : आईटी कम्पनी, कर्पोरेट, वित्तीय संस्था र लगानीकर्ताबीच प्रत्यक्ष संवाद र सहकार्यलाई प्रोत्साहन गर्न विशेष स्थान ।

दुई दिनसम्म चल्ने यस कार्यक्रममा प्रविधिलाई प्रयोग गरी वृद्धि, कार्यक्षमता र प्रतिष्पर्धात्मक लाभ हासिल गर्ने उद्देश्य राखेका कर्पोरेट नेतृत्व, नीति निर्माता, लगानीकर्ता र उद्यमी सहभागी हुने अपेक्षा गरिएको छ । टिगद्वारा प्रस्तुत नास आईटी एक्स्पो २०२५ केही अग्रणी संस्थाको सहयोगमा आयोजना हुनेछ । टिग टाइटल स्पोन्सर, ईसेवा सिल्भर स्पोन्सर र रिड्युट, र्यापिड, एनसेल बिजनेश, भायनेट कम्युनिकेशन र डाटा वल्र्ड सपोर्टिङ स्पोन्सरका रुपमा रहेका छन् ।

नास–आईटीको बारेमा :
नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास–आईटी) नेपालको आईटी क्षेत्रको प्रमुख गैरनाफामूलक उद्योग संघ हो । यसले नवप्रवर्तनलाई प्रोत्साहन गर्ने, बजार सञ्जाललाई सुदृढ बनाउने र नेपाललाई ग्लोबल हबको रूपमा स्थापित गर्ने लक्ष्यका साथ कार्य गर्दछ ।

You might also like

Comments are closed.