गैंडाकोटमा सडक सुरक्षा र सार्वजनिक यातायात सम्बन्धी अन्तर्क्रिया सम्पन्न

काठमाडौं । आठौं युएन ग्लोबल रोड सेफ्टी विकको अवसरमा अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट गैंडाकोटमा युवा वर्कशप तथा अन्तर्क्रिया कार्यक्रम भएको छ ।

नेपाल अटोमोबाइल्स एशोसिएसनको आयोजना र युथ फर रोड सेफ्टी इन नेपालको व्यवस्थापनमा कार्यक्रम गरिएको हो । एफआइए सेफ एण्ड सस्टेनेभल मोविलिटि ग्रान्टको सहयोग तथा बागमती अटोमोबाइल्स एसोसिएसन, नासा फाउण्डेसन नेपाल र रोटरी क्लब अफ चितवनको सहकार्यमा कार्यक्रम सम्पन्न भएको छ ।

यस वर्षको रोड सेफ्टी विकको अवसरमा इन्जिनियरिङका युवा विद्यार्थीलाई लक्षित गरी गरेर कार्यक्रम आयोजना गरिएको हो । वर्कसपमा सडक सुरक्षा र दिगो यातायतसम्बन्धी, सडक सुरक्षाको आधारभूत विषयहरु, सेफ्टी राइडिङ इनिसियटिभ, सार्वजनिक यातायात सुधार, स्टार रेटिङ्ग स्कुल, रोड सेफ्टी अडिटिङ, पैदल र साइकल यात्रीको सुरक्षाजस्ता विषयमा जानकारी दिइएको छ ।

साथै, मोविलिटि सिनारियो सर्भेमार्फत उनीहरूको यातायातसम्बन्धि धारणा र सुझाव सङ्कलन पनि भएको छ । सहभागीलाई स्टाण्डर्ट हेलमेटको प्रयोगबारे सचेत गराउँदै, मोटरसाइकल चालक र यात्रु दुवैले हेलमेट लगाउनुपर्ने आवश्यकता विशेष रूपमा प्रस्तुत गरेका छन् ।कार्यक्रमको समापनमा रोड सेफ्टी क्विजको पनि आयोजना गरिएकामा शुभलक्ष्मी परियार प्रथम र ओमकुमार चौधरी द्वितीय भएका छन् ।विजेतालाई बागमती अटोमोबाइल्स एशोसिएसनका कोषाध्यक्ष जनककुमार ढकाल र अक्सफोर्ड कलेजका लोमश अधिकारीले पुरस्कार वितरण गरेका हुन् ।

नेपाल अटोमोबाइल्स एसोसिएसनका कार्यकारी निर्देशक गोविन्द भट्टराई र युथ फर रोड सेफ्टी इन नेपालका संयोजक किरण धितालले कार्यक्रम सहजिकरण गरेका हुन् । कार्यक्रमको शुभारम्भ गर्दै अक्सफोर्ड कलेजका प्रन्सिपल डा. हरि भण्डारीले युवाको इन्जिनियरको ज्ञान र संलग्नताले सडक सुरक्षामा दीर्घकालीन प्रभाव पार्ने बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार सडक दुर्घटनाले विश्वभर हरेक वर्ष १३ लाखभन्दा बढी मानिसको ज्यान जाने गरेको छ । जसबाट सबैभन्दा बढी १५–२९ वर्ष उमेरका युवा समूह प्रभावित हुन्छ । रोड सेफ्टी विकमा युवालाई नेतृत्व र अर्थपुर्ण सहभागीताले समाज तथा सडकमा सकारात्मक सुधार ल्याउने विश्वासका साथ यस वोर्कशप सञ्चालन गरिएको हो ।

सहभागी युवाहरूले सडक नियमको पालना गर्ने, हेलमेट र सीट बेल्ट प्रयोग गर्ने, मोबाइल चलाउँदै गाडी नचलाउने, नशामा सवारी नगर्ने जस्ता व्यवहारलाई आत्मसात् गरेर परिवर्तन आफैंबाट सुरु गर्ने प्रतिवद्धता जनाएका छन् । नेपाल अटोमोवाइल एसोसिएसनले अब विद्यालय, कर्पोरेट र क्लवलाई आवद्धता गर्दै अटोमोवाइल, मोविलिटि, टुरिजम र मोटरस्पोर्टस्मा थप क्रियाशिल हुने सन्दर्भमा इन्जिनियरिङ क्षेत्रबाट यो अभियान सुरु गरिएको हो ।

You might also like

Comments are closed.

Secret Link