काठमाडौं । नेपाल डेरी एसोसिएसनले असार १५ र दही चिउराको महत्व जोगाई राख्न एक कार्यक्रम गरेको छ । बिहिबार काठमाडौंको सिनामंगलस्थित होटल रोयल एयरपोर्टमा असार १५ को सांस्कृतिक र कृषि महत्वलाई उजागर गर्ने उद्देश्यले दही चिउरा खाने विशेष कार्यक्रम आयोजना भएको छ ।
कार्यक्रममा परम्परागत रुपमा चलिआएका संस्कृति संरक्षण गर्न जोड दिइएको छ । असार १५ एउटा किसानको लागि सांस्कृतिक पर्व रहेको हुँदा यसको संरक्षणमा सरोकारवालाले चासो दिनुपर्ने बताइएको छ । एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रमका प्रमुख अतिथि कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी रहेका हुन् । मन्त्री अधिकारीले स–साना बालबालिकालाई दही चिउरा खुवाएर कार्यक्रमको औपचारिक उद्घाटन गरेका हुन् ।
कृषि मन्त्री अधिकारीले नेपालमा कृषि क्षेत्रको आधुनिकीकरण तथा दुग्ध उत्पादनमा आत्मनिर्भर बन्ने आवश्यकता औंल्याउँदै यस्ता सांस्कृतिक कार्यक्रमले कृषि र डेरी क्षेत्रमा गरिने योगदानप्रति सम्मान व्यक्त गर्ने अवसर प्रदान गर्ने बताए । उनले किसानले उत्पादन गरेको दूधको भुक्तानी समयमा नहुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै डेरी व्यवसायीलाई किसानको पैसा बेलैमा चुक्ता गर्न आग्रह गरे ।
साथै उनले देशमा ११ देखि १३ लाख टन रासायनिक मलको माग भएतापनि हालसम्म ४ लाख टनभन्दा बढी मल ल्याउन नसकिएको जानकारी दिँदै किसानको आवश्यकता पुरा गर्न नसक्नु दुःखद पक्ष भएको बताएका छन् । सो अवसरमा नवप्रभात डेरीद्वारा उत्पादित ‘राजा दही’ ब्राण्ड पनि सार्वजनिक गरिएको छ ।
अध्यक्ष दाहालले दही चिउरा असार १५ को परम्परागत आहार मात्र नभई किसान, कृषक र डेरी व्यवसायीप्रति कृतज्ञता व्यक्त गर्ने अवसर पनि भएको बताए । यस्ता कार्यक्रमले दुग्ध व्यवसायको मूल्य र महत्व उजागर गर्न सहयोग पुग्ने उनी बताउँछन् । दही चिउरा हाम्रो मौलिक परम्पराको अभिन्न अंग भएको उल्लेख गर्दै त्यसको संरक्षण र प्रवद्र्धनमा सबैले ध्यान दिनुपर्ने उनले जोड दिए ।
अध्यक्ष दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार, दूध तथा दुग्ध पदार्थको प्रवद्र्धन र समग्र विकासमा नेपाल डेरी एसोसिएसनले लामो समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । देशभरका घरेलु, साना, मझौला तथा ठूला डेरी उद्योगको छाता संगठनका रूपमा सक्रिय यस एसोसिएसनले नीतिगत सुधारका लागि निरन्तर पहल गरिरहेको छ भने किसान र उद्योगको हकहितमा समेत आवाज उठाउँदै आएको छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकाल, कृषि उद्यम केन्द्रका सभापति डी.बी. खड्का, दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादव, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्यहरू तथा मातहतका वस्तुगत संघका अध्यक्ष लगायतले पनि शुभकामना दिएका छन् । कार्यक्रममा रोटरी क्लब अफ कपन, अप्टिमिष्ट क्लब अफ डेरी इन्टरप्रेनर्स, युनाइटेड नेचर इन्टरनेशनल पिस नेपाल, कृषि उद्यम केन्द्रलगायत विभिन्न संस्थाको सहकार्य रहेको थियो ।
कार्यक्रमको अवसरमा दही चिउराको सांस्कृतिक र पोषणीय महत्वबारे छलफल भएको छ । असार १५ लाई ‘मानो रोपेर मुरी फलाउने’ दिनका रूपमा धान दिवसको रूपमा मनाइने गरिन्छ भने यस दिन दही चिउरा खाने हाम्रो मौलिक परम्परा बनिसकेको छ । देशभर असार १५ मा झन्डै ८० लाख लिटर दही खपत हुने अनुमान गरिएको छ । जसबाट करिब १ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।
दही चिउरा जस्ता परम्परागत आहारहरू केवल सांस्कृतिक पहिचान नभई पोषणीय दृष्टिले पनि अत्यन्त महत्वपूर्ण छन् । दहीमा प्रोटिन, क्याल्सियम, भिटामिन बि १२ तथा लाभदायक ब्याक्टेरिया (प्रोबायोटिक्स) पाइने भएकाले यसले पाचन प्रणाली सुदृढ बनाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने कार्य गर्दछ । साथै, छालालाई स्वस्थ राख्ने, हड्डी तथा दाँत बलियो बनाउने र मानसिक सन्तुलन कायम राख्न सहयोग पुर्याउने यसको विशेषता हो ।
नेपाली संस्कृति अनुसार दही शुभकार्यमा सगुनको रूपमा प्रयोग गरिन्छ । यसको सामाजिक तथा धार्मिक मूल्य पनि उच्च छ । एसोसिएसनले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । यस्ता कार्यमार्फत दुग्धजन्य उत्पादनको उपभोग बढाउने, किसानलाई प्रत्यक्ष लाभ पुर्याउने र नेपाली संस्कृतिको संरक्षण एवं प्रवद्र्धनमा सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
Comments are closed.