काठमाडौंमा ‘नेपाल-जर्मन मार्ट-२०२२’ मेला सुरु

काठमाडौं । काठमाडौंस्थित जर्मन दूतावासमा ‘नेपाल–जर्मन मार्ट–२०२२’ मेला सुरु भएको छ। आजदेखि सुरु भएको दुईदिने मेलाको नेपालका लागि जर्मन राजदूत डा थोमस प्रिन्जले उद्घाटन गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल र जर्मनीबीचको व्यापार प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित आयोजना गरिएको मेलामा नेपाल र जर्मनीका उत्पादनहरूका साथै खाना र संस्कृतिको प्रदर्शन भइरहेको छ। नेपाल–जर्मन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनजीसीसीआई) ले जर्मन दूतावास काठमाडौँको सहकार्यमा प्रदर्शनी आयोजना गरेको हो ।

जर्मन राजदूत डा प्रिन्जले भने, “कोभिडका कारणले दुई वर्षदेखि अवरुद्ध भएको द्विपक्षीय व्यापारमा सकारात्मक विकासलाई निरन्तरता दिने हाम्रो उद्देश्य रहेको छ ।”

नेपाल र जर्मनीका ४० कम्पनीको सहभागिता रहने प्रदर्शनीमा जलविद्युत्, अटोमोबाइल र पर्यटन क्षेत्रका कम्पनीका स्टलहरू रहेका छन्। साथै गलैँचा, फेल्ट, हस्तकला आदिका ‘स्टल’ रहेका छन्। नेपाली तथा जर्मन खाद्य तथा पेय पदार्थका स्टलसमेत राखिएको छ। मेलामा सांस्कृतिक नृत्य पनि प्रस्तुत गरिने जनाइएको छ ।

प्रदर्शनीको लक्ष्य नेपाल र जर्मनीबीच सहकार्यको निम्ति आधार निर्माण गरी द्विपक्षीय आर्थिक सम्बन्धमा योगदान पु¥याउने रहेको छ। मेलामा करिब आठ सय जना प्रत्यक्ष र भर्चुअल प्रदर्शनीमा लगभग सात हजारले भाग लिने आयोजकको दाबी छ।

You might also like

Comments are closed.