व्यवसायीको मनोबल उकास्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउन गृहमन्त्रीलाई चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष उद्यमी व्यवसायीको मनोबल उकास्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ ।

अध्यक्ष कमलेशकुमार अग्रवाल सहितको पदाधिकारी टोलीले गृहमन्त्री अर्याल समक्ष सिंहदरबारमा आज भेटवार्ता गरेको हो । गृहमन्त्री अर्याललाई बधाई एवं सफल कार्यकालको शुभकामना दिने क्रममा चेम्बरले निजी लगानी सुरक्षित एवं लगानीकर्तामा विश्वास जगाउन राज्यले पहल गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।

आन्दोलनका क्रममा सरकारी र निजी सम्पत्तिमा आक्रमण हुनु दुःखद भएको र यस्ता घटनाले व्यवसाययिक वातावरणमा नकारात्मक असर पर्न गएको चेम्बरका अध्यक्ष अग्रवालले बताए । उनी भन्छन्, ‘मुलुकको समग्र आर्थिक विकास र रोजगारी सिर्जनामा निजी क्षेत्रको ठूलो योगदान रहेको छ, मुलुकमा निजी क्षेत्रको लगानी ८१ प्रतिशत भन्दा बढी रहेको छ, विकसित पछिल्लो घटनाक्रमले व्यवसायिक सुरक्षामा गम्भिर प्रश्न उव्जाएको छ ।’

निजी क्षेत्रको सम्पत्ति सुरक्षण र व्यवसायिक स्थिरताका लागि शान्तिपुर्ण वातावरण अपरिहार्य रहेको अध्यक्ष अग्रवाल बताउँछन् । वर्तमान अवस्थामा सरोकारवाला गृहमन्त्रालय, अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक तथा सुरक्षा निकाय र निजी क्षेत्रबीच छिटो छरितो सूचना आदानप्रदानका लागि विशेष संयन्त्र बनाइनुपर्ने चेम्बरले जनाएको छ ।

प्राकृतिक विपत्ति वा अराजकताको समयमा आर्थिक पूर्वाधार सुरक्षित राख्न विशेष सुरक्षा योजना बनाउन समेत चेम्बरले गृहमन्त्री अर्याललाई सुझाव दिएको छ । चेम्बरद्धारा गृहमन्त्री अर्याललाई दिइएको सुझावमा भनिएको छ, ‘आर्थिक क्षेत्रको सुरक्षा, डिजिटल सुरक्षा तथा संकट व्यवस्थापन सम्बन्धी तालिम सुरक्षा निकायलाई उपलव्ध गराउन आवश्यक देखिएको छ ।’

यस्तै आर्थिक सुरक्षासँग सम्बन्धित जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न पनि चेम्बरले सुझाव दिएको छ । चेम्बरले आन्दोलनका क्रममा भएको सरकारी सम्पत्तिको पुनःनिर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत गृहमन्त्री अर्याल समक्ष व्यक्त गरेको छ ।

यसैबीच नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले आन्दोलनका क्रममा क्ष(ितग्रस्त नक्सालको भाटभटेनी सुपरमार्केटमा स्थलगत अवलोकन गरेको छ । भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङलाई भेटी चेम्बर पदाधिकारी टोलीले भाटभटेनीमा भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलनका लागि चेम्बरले उद्यमी, व्यवसायीमा आन्तरिक परिपत्र जारी गरिसकेको छ ।

You might also like

Comments are closed.