lcci festival

नेपाल बैंकको ८९औं वार्षिकोत्सव सम्पन्न, देशभर गुणस्तरीय सेवा विस्तारमा जोड

काठमाडौं ।  देशकै पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं वार्षिकोत्सव विशेष समारोहका साथ मनाएको छ । वि.सं. १९९४ साल कात्तिक ३० गते स्थापना भएको बैंकले ८८ वर्ष पूरा गर्दै २०८२ कात्तिक ३० गते ८९औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकको प्रधान कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रम सम्पन्न भएको हो । समारोहको अध्यक्षता बैंकका सञ्चालक समितिका अध्यक्ष प्रा. डा. डिल्लीराज शर्माले गरेका थिए ।

नेपालभर फैलिएको २३१ शाखा, २३७ एटिएम र ६१ एक्टेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले पछिल्ला वर्षहरूमा सेवा सुधार र डिजिटल बैंकिङ प्रणालीलाई विशेष प्राथमिकता दिएको जनाएको छ । करिब १० लाखभन्दा बढी ग्राहकले डिजिटल माध्यमबाट बैंकिङ सेवा लिएको बैंकको तथ्यांकले देखाएको छ। युवाशक्ति केन्द्रित सेवाको विस्तार, छिटोछरितो कार्यशैली तथा आधुनिक प्रविधिको उपयोगमार्फत बैंकले प्रतिस्पर्धी बैंकिङ सेवामा आफ्नो भूमिका अझ सशक्त बनाइरहेको छ ।

वार्षिकोत्सवको अवसरमा बैंकमा निरन्तर योगदान पुर्‍याउने कर्मचारीहरूलाई सम्मान गरिएको थियो । २५ वर्षे अविच्छिन्न सेवाकाल पूरा गर्ने ३ जना कर्मचारी तथा २० वर्ष सेवा गर्ने ५३ जना कर्मचारीलाई पदक तथा प्रशंसापत्र प्रदान गरिएको थियो । त्यसैगरी कठिन सुरक्षास्थितिमा समेत बैंकको संरचना र सुरक्षालाई मजबुत बनाउन भूमिका खेल्ने गौरादह र नयाँ बानेश्वर शाखाका सुरक्षकहरूलाई पनि विशेष सम्मान गरिएको छ । साथै, प्रादेशिक तथा भौगोलिक आधारमा उत्कृष्ट प्रदर्शन गर्ने १२ शाखालाई पनि पुरस्कृत गरिएको थियो ।

समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रा. डा. शर्माले बैंकका कर्मचारीलाई उच्च मनोबल, इमान्दारिता र जिम्मेवारीका साथ आफ्नो कार्यक्षेत्रमा अझ प्रभावकारी रूपमा योगदान दिन आह्वान गरे। उनले बैंकको व्यवस्थापनलाई आवश्यक सुझाव तथा सहयोग प्रदान गर्दै आगामी दिनमा पनि सञ्चालक समितिको पूर्ण साथ रहने विश्वास दिलाए ।

देशको सबैभन्दा पुरानो बैंकका रूपमा नेपाल बैंकले आफ्नो सामाजिक तथा वित्तीय भूमिकालाई अझ विस्तार गर्दै स्थायित्व, पारदर्शिता र प्रविधिमैत्री सेवा सुधारमार्फत ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

You might also like

Comments are closed.