नेप्सेको ओरालो यात्रा कायमै

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि ओरालो लागेको छ । सोमबार झण्डै १ सय अङ्कले खस्किएको बजार मंगलबार भने सामान्य अङ्कले मात्रै ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोबार मापक नेप्से ५.५९ अङ्कले ओरालो लागेर दुई हजार ८१५.०६ मा झरेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.०९ अङ्कले घटेर ५२४.९४ मा ओर्लेको छ ।

कूल २ सय २९ कम्पनीको ९७ लाख ८४ हजार ६ सय ५१ कित्ता शेयर पाँच अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६ सय २७ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये आज जीवन बीमा उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ । जीवन बीमा उपसमूह ७२.१६ अङ्कले उकालो लागेको हो । बाँकी रहेका १२ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ३.६१, व्यापार १.४६, होटेल तथा पर्यटन ४.२५, विकास बैंक १५.६, जलविद्युत् १०.५७, वित्त ५.३९, निर्जीवन बीमा १७.२९, उत्पादन १३.५९, अन्य ९.८९, लघुवित्त १५.२४, सामूहिक लगानी कोष ०.०१ र लगानी ०.३७ अङ्कले ओरालो लागेको छ ।

मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ७८ अर्ब २१ करोड २८ लाख १३ हजार २ सय ३१ रुपैयाँ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा आज एसियन लाइफ इन्सुरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २६ करोड ९४ लाख ५१ हजार ४ सय १७ रुपैयाँ बराबरको कारोबार भयो । यस्तै अपी पावर कम्पनी २२ करोड ८२ लाख ५५ हजार ६ सय १७, एनआइसिए एसिया बैंक १९ करोड ६८ लाख ७४ हजार १ सय ८४, नेपाल लाइफ इन्सुरेन्स १४ करोड २२ लाख ३४ हजार ९ सय १५ र नेसनल हाइड्रोपावर १२ करोड ७६ लाख ९१ हजार ५ सय ५२ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार विन नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै बुद्धभूमि नेपाल हाइड्रोपार ९.९८, पोखरा फाइनान्स ८.२५, कालिका लघुवित्त ४.५२, सामलिङ पावर कम्पनीका लगानीकर्ताले ४.०३ प्रतिशतले कमाए । त्यस्तै कृषि विकास बैंकको ऋणपत्र ८.३४, गुर्खाज फाइनान्स ४.५८, समिट लघुवित्त ३.१८, समता घरेलु लघुवित्त ३.०३ र चन्द्रागिरि हिल्सका लगानीकर्ताले २.७३ प्रतिशतले गुमाए ।

You might also like

Comments are closed.