व्यवसायमा उदाहरणिय बन्दै ‘कविराज’

गण्डकी । मध्य असारको टन्टलापुर घाममा महिला उद्यमी संघ नेपाल, तनहुँको शुक्लागण्डकी नगरपालिका नगर इकाईको टोली शुक्रबार शुक्लागण्डकी नगरपालिका वडा नं २ स्थित एक्लेखेतमा ॐ कृषि फर्मले लगाएको कुरिलो तथा सिप्लीकान खेती अवलोकनका लागि पुग्यो ।

युवा व्यवसायी कविराज खनालले एक्लेफाँटमा लगाएको कुरिलो र सिप्लीकान खेतीबारे स्थलगत रुपमा नै जान्न र बुुझ्न पुुगेको महिला उद्यमी संघ नेपाल तनहुँ शुक्लागण्डकी नगर इकाईका अध्यक्ष तुलसी शाह नेतृत्वको टोलीलाई खनालले यस खेतीका फाइदा, लगाउने तरिकाका साथै विद्यमान बजार समेतको जानकारी गराएका छन् ।

स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सन्देश समाजमा फैलाउने उद्देश्य राखेका खनालको व्यवसायिक कृषि यतिखेर उद्यमशिलताको विकासमा लागेका संघ संस्थादेखि व्यक्ति विशेषका लागि पनि दरिलो पाठशाला बन्दै गएको छ । फर्म अन्तर्गत खनालले शुक्लागण्डकी नगरपालिका वडा नं १, २ का साथै पोखरानगरपालिका वडा नं ३२ मा प्राङ्गारिक फलफुुल, कागती, तरकारी, नर्सरी उत्पादनसँगै विक्री केन्द्र पनि सञ्चालन गरिरहेका छन् ।

आफ्नो फर्ममा कुुरिलो, सिप्लीकान, कागती माछा, बंगुरका साथै विभिन्न प्रजातिका फलफूल तरकारी समेत उपलब्ध हुने उनले जानकारी दिएका छन् । “फर्ममा विभिन्न उत्पादन त छ नै पछिल्लो समयमा ठाउँ–ठाउँबाट मैले लगाएको कुरिलो खेतीका साथै सिप्लीकान खेती हेर्नका लागि पनि युवा उद्यमीहरू आउने गरेका छन्”, उनले भने, “फर्ममा आउने जो कोहीलाई कुरिलो, सिप्लीकान लगायत खेतीका प्रविधि, उपयोगिता र बजारीकरण लगायतका विषयमा जानकारी गराउँदै आएको छुु ।”

व्यवसायिक कृषिसँगै पत्रकारिता र शिक्षण पेशालाई सँगसँगै अघि बढाएका खनालका अनुुभव यतिखेर अरुका लागि पनि अनुकरणीय बनेका छन् । रेडियो नेपालका साथै आदर्श समाज राष्ट्रिय दैनिकका संवाददाताका रुपमा रहेका खनाल लेखनाथ पत्रकार मञ्चको अध्यक्ष हुन् भने उनले ब्रह्मरुपा माध्यमिक विद्यालय राजाको चौतारामा कम्प्युटर विज्ञान विषयमा विगत २० वर्षदेखि अध्यापन समेत गरिरहेका छन् ।
चार वर्ष यता शुक्लागण्डकी नगरपालिका वडा नं २ एक्लेखेतका साथै तार्कुडाँडामा कुरिलो खेतीका साथै सिप्लीकान खेती गरिरहेका खनालको फर्ममा ९ सय बेर्ना कुरिलो लगाइएकोमा ८ सय बेर्नाबाट उत्पादन सुरु भइकेको छ ।

कुरिलो खेतीबाट आफूले वार्षिक ४ लाख रुपैयाँ आम्दानी गरिरहेको उनले अनुभव सुनाए । सुरुमा एक हजारको संख्यामा सिप्लीकान लगाएपनि डढेलोजन्य प्रकोपका कारण हाल ८ सयको संख्यामा बोटहरू रहेको उनले जानकारी दिए । कुरिलो र सिप्लीकान दुबैको बजारका लागि समस्या नरहेको बताउँदै उनले कुरिलो प्रतिकिलोे एक हजार रुपैयाँसम्म विक्री भइरहेको बताए ।

नेपालका अधिकांश भूभागमा लगाउन सकिने कुरिलो बहुपोषणयुक्त औषधीय गुण भएको बहुवर्षीय वनस्पति हो । स्वास्थ्यका लागि धेरै उपयोगी कुरिलोको टुसालाई तरकारीको रूपमा बढी प्रयोग गरिन्छ । कुरिलोमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य विभिन्न विभिन्न पौष्टिक तत्व पाइने र बच्चादेखि बृद्धसम्म सबैका लागि यो अत्यन्त उपयोगी रहेको खनाल बताउँछन् ।

सिप्लीकान विशेषत नेपालको पहाडी भागमा पाईने अर्को औषधीजन्य बनस्पति हो । खनालका अनुसार स्वादमा केही तीतो हुने यसलाई तरकारी या अचारको रुपमा विभिन्न किसिमको परिकार बनाएर खाने प्रचलन रहेको छ । उच्च रक्तचापको समस्याका साथै मृगौला एवम् ज्वरोजन्य समस्यामा यसको उपयोगिता रहने उनले बताएका छन् । विशेषगरी सिप्लीकानको गुन्द्रुक धेरै महत्वको मानिन्छ । यसको गुन्द्रुक प्रतिकिलो चारदेखि ५ हजार रुपैयाँ सम्ममा विक्री गर्न सकिने उनी बताउँछन् ।

उत्पादन गर्न सकेमा बजारको कुनै समस्या नरहेको बताउँदै उनले यसतर्फ आम सर्वसाधारणलाई आकर्षित गर्न सकेमा त्यसबाट रोजगारी अभिबृद्धि गर्न सकिने धेरै सम्भावना रहेको बताए । “रोजगारीको खोजीमा धेरै नेपाली युवाहरू विदेशिएका अवस्थामा सम्भावनायुक्त कुरिलो, सिप्लीकान जस्ता खेतीतर्फ अभिपे्ररित गरी उनीहरूलाई यहीँ नै बस्न सक्ने वातावारण बनाउन सकिन्छ”उनले भने, “अब राज्यले कृषिमा अनुदान भन्दा पनि उनीहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नु अपरिहार्य छ ।”

वास्तविक कृषकको पहिचान गर्दै उनीहरूलाई प्रोत्साहित बन्ने वातावारण राज्यले तयार गर्न सकेमा कृषितर्फको आकर्षण बढेर जाने र त्यसले बढ्दो युुवा पलायन रोक्दै उनीहरूलाई यही नै केही गरौं भन्ने भावनाको विकास गराउने उनको तर्क छ । बहुपोषण र औषधीयुक्त कुुरिलो तथा सिप्लीकान खेती घरघरमा गरिएमा त्यसले सर्वसाधारणको स्वास्थ्य रक्षामा पनि योगदान पुुग्ने बताउँदै उनले आफूले प्राप्त गरेको ज्ञान तथा अनुुभव समाज तथा राष्ट्रमा बाँड्न चाहेको बताए । “बहुपोषण र औषधीका कारण प्रत्येक घरघरमा १०/१० वटा कुरिलो तथा सिप्लीकानका बोटहरू लगाउनुपर्छ भन्ने मेरो सोच छ”, उनले भने, “यसका लागि मैले प्राप्त गरेका अनुुभव तथा ज्ञानसिप समूदायमा बाढ्न चाहन्छुु ।”

खनालले फर्ममार्फत कुरिलो तथा सिप्लीकानका बेर्नाका साथै निबुवा, कागती आदिका विरुवा तयार गरी बेच्दै आएका छन् । उनको फर्ममार्फत माछा तथा बंगुरपालन पनि सञ्चालन भइरहेको छ । पछिल्लो समयमा मत्स्य अनुसन्धान केन्द्र, बेगनासको अनुसन्धानबाट प्रमाणित भई पोखरा र आसपासमा धेरै सम्भावना देखिएको सिपीमा मोती खेती गर्नेतर्फ पनि आफ्नो सोँच रहेको उनले बताए ।

You might also like

Comments are closed.