रामपुर नगरको १५ औँ नगर सभा सम्पन्न, बजेट संशोधन पारित

रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकाको नगर सभाको १५ औं अधिवेशनको दोस्रो बैठक बजेट संशोधन सहित पास गर्दै सम्पन्न भएको छ । असार ६ गते नगर सभाको पहिलो बैठकमा पेश भएको आर्थिक वर्ष २०८१/०८२ को आर्थिक विनियोजन विद्येयक ऐन पारित गर्दै दोस्रो बैठक विहिबार सम्पन्न भएको हो ।

बैठकमा उपप्रमुख बालकुमारी थापाले आर्थिक विनियोजन विद्येयक ऐन संशोधन सहित नगर सभामा प्रस्तुत गरिन् । पहिलो बैठकमा प्रस्तुत भएको बजेटमध्ये प्रदेश सरकारबाट विशेष अनुदान २० लाख र प्रदेश सशर्तमा ६ लाख थप भएसंगै नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट ७४ करोड ११ लाख ४ हजार भएको छ ।

संशोधन सहितको बजेट चालुतर्फ ५६ करोड ३२ लाख ४४ हजार र पूँजिगततर्फ १७ करोड ७८ लाख ६० हजार गरी ७४ करोड ११ लाख ४ हजार विनियोजन गरिएको छ । जसमध्ये आर्थिक विकास तर्फ ३ करोड १५ लाख ५२ हजार, सामाजिक विकासमा ४० करोड २६ लाख ९३ हजार, पूर्वाधार विकासमा १२ करोड ५ लाख ६० हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २ करोड ६१ लाख ९९ हजार र काठर्यालय सञ्चालन तथा प्रशासनिक तर्फ १६ करोड बजेट विनियोजन भएको छ ।

नगरपालिकाले १० वटै वडालाई ४२ लाख बराबरको बजेट प्रदान गरेको छ । नगरपालिकाले आयतर्फ संघीय समानिकरण अनुदान १२ करोड ६ लाख, संघीय राजस्व बाँडफाँडबाट ११ करोड ६ लाख, संघीय समपुरक पूँजिगत १ करोड ३५ लाख, सशर्त चालुतर्फ ३४ करोड ५३ लाख ४ हजार, संघीय सशर्त पूँजिगत १ करोड २० लाख, प्रदेश समानिकरण अनुदान ८२ लाख ६५ हजार, प्रदेश राजस्व बाँडफाँड ८१ लाख ४० हजार, प्रदेश समपुरक १ करोड ५ लाख, प्रदेश विशेष अनुदान २० लाख, प्रदेश सशर्त १ करोड ६ लाख र आन्तरिक स्रोतबाट ९ करोड ९५ लाख ९५ हजार जुटाउने लक्ष्य लिएको छ ।

बैठकमा विद्येयक समितिका संयोजक मिनबहादुर सिंजालीले रामपुर नगरपालिकाको नगर सभाको कार्यसञ्चालन कार्यविधि विद्ययेक २०८१ प्रस्तुत गरेका छन् । सो विद्येयक सर्वसम्मत रुपमा पारित भएको छ । सभाको विशेष समयमा बोल्दै नगर प्रवक्ता कपिलबहादुर खाँण र शुन्य समयमा रामपुर नगरपालिका–६ का वडा सदस्य हरिनाथ ढुङ्गानाले आफ्नो भनाई राखेका छन् । नगर सभामा रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले नगर सभाको अधिवेशनले ४ वटा ऐन पारित गरेको जानकारी दिए । उनले नगर सभा सम्पन्न गर्नका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । सभामा वडा नं ३ का वडाध्यक्ष दामोदर पाठकले नगरको विकासको लागि एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

सभाको अवसरमा रामपुर नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) जिल्लामै उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थी र विद्यालयलाई सम्मान गरेको छ । नगरको नमुना विद्यालय दरैठाँटी माध्यमिक विद्यालयबाट चार जीपीए ल्याउन सफल छात्रा पूर्णिमा लक्ष्मी कुँवरलाई नगदसहित सम्मान गरेको हो । कुँवरलाई नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतले नगद १० हजार र सम्मानपत्र सहित दोसल्ला ओढाई सम्मान गरेका छन् । सिङ्गो नगरको गरिमा उच्च बनाउन सफल भएको भन्दै नगरपालिकाले सम्मान गरेको हो ।

साथै नगरपालिकाले उत्कृष्ट नतिजा दिन सफल दरैठाँटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटालाई ढाका र कुँवरका अभिभावक मानबहादुर कुँवरलाई पनि सम्मान गरेको छ । सभाको अवसरमा १४ वर्ष नगरपालिकामा करारमा कार्यरत रही हाल स्वऐच्छिक अवकाश लिएका कार्मचारी शिवादेवी थापालाई दोसला र सम्मान पत्रसहित नगरपालिकाले स्थापना गरेको कर्मचारी कल्याणकारी कोषमार्फत २ लाख ९४ हजार प्रदान गरी सम्मान गरेको छ । नमस्ते पाल्पा होटलको सभाहलमा भएको कार्यक्रम नगर प्रमुख थापाको अध्यक्षता र प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितको सञ्चालनमा चलेको हो ।

You might also like

Comments are closed.