पाल्पामा ४५ प्रतिशत धान रोपाई

सुशीला रेग्मी
रामपुर (पाल्पा) । वर्षा परेपछि पाल्पामा धान रोपाईको धमाधम हुन थालेको छ । हालसम्म जिल्लाभरमा करिव ४५ प्रतिशत क्षेत्रफलमा धान रोपाई भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख सन्तोष चौधरी बताउँछन् ।

जिल्लाका सबैजसो ठाउँमा धान रोप्ने कार्य भइरहेको प्रमुख चौधरीले जानकारी दिए । आकाशे पानीको भरमा मात्र रोपाई हुने खेतमा वर्षा परेपछि धान रोप्न थालिएको छ । “पानी परेपछि धान रोपाईको चहलपहल बढेको छ, पर्याप्त वर्षा परेपछि मात्र पाल्पामा धान रोपाईको चटारो हुने गरेको छ, अहिले किसानहरु रोपाईमा व्यस्त हुनुहुन्छ” प्रमुख चौधरीले भने ।

जिल्लाका माडी, रामपुर, अर्गली, दोभान, पूर्वखोला, झडेवा, हुँगी लगायतका स्थान धान उत्पादनको पकेट क्षेत्र हुन् । माडी, दोभान, पूर्वखोला फाँटमा भने अन्य स्थानमा भन्दा छिटो रोपाई हुने गर्दछ । रामपुर, अर्गली, हुँगी लगायतका स्थानमा खेतमा प्रशस्त मात्रामा मकै बाली हुने, मकै पाक्न समय लाग्ने, प्रयाप्त वर्षा नै पर्खनुपर्ने भएकाले असारको अन्ततिर धान रोप्ने गरिन्छ ।

गाउँ–गाउँमा सिंचाईका लागि व्यवस्थित आयोजना निर्माण भएपनि वर्षे धानबालीका लागि प्रयाप्त वर्षाकै भर पर्नु पर्दछ । यहाँ सावित्री, हाइब्रिड, साँवा मन्सुली, अनदी, झिनुवा लगायतका जातका धान चलनचल्तिमा छन् । जिल्लामा आठ हजार २४० हेक्टर क्षेत्रफलमा वर्षे धान खेती हुने गरेको छ ।

lcci
You might also like

Comments are closed.