पाडाबाच्छी हुर्काउने किसानलाई रु ६० लाख अनुदान

दमौली (तनहुँ) । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले पाडाबाच्छी हुर्काउने ३२७ किसानलाई रु ६० लाख ४० हजार अनुदान उपलब्ध गराएको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ मा ३२७ कृषकलाई ६०४ पाडाबाच्छी हुर्काएवापत सो रकम उपलब्ध गराएको हो ।

प्रति पाडाबाच्छी रु १० हजारका दरले किसानलाई अनुदान दिइएको केन्द्रका प्रमुख डा राजेश चौधरीले जानकारी दिए । कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत नश्लका पाडाबाच्छी हुर्काउन प्रोत्साहनस्वरुप अनुदानको कार्यक्रम सञ्चालन गरिएको चौधरीले बताए । कार्यक्रमका लागि रु ७० लाख बजेट भएपनि ८६ दशमलव २९ प्रतिशत मात्रै प्रगति भएको उनको भनाइ छ ।

३३१ कृषकबाट ६१८ पाडाबाच्छीको प्रस्ताव आएपनि ३२७ कृषकका ६०४ पाडाबाच्छीलाई मापदण्डका आधारमा अनुदान उपलब्ध गराइएको चौधरीले बताए । गत वर्ष १६० जना किसानलाई जनही रु १० हजारका दरले रु १६ लाख वितरण गरिएपनि यस वर्ष यो कार्यक्रममा कृषकको आकर्षण बढेको चौधरीले उल्लेख गरे ।

डा चौधरीका अनुसार जन्मिएको दर्ता गरी हुर्किएको देखाएपछि किसानले अनुदान पाउने व्यवस्था गरिएको छ । गण्डकी प्रदेश सरकारले उन्नत जातका भैँसी तथा गाईमा आत्मनिर्भर बन्न पाडापाडी तथा बाच्छाबाच्छी संरक्षण गर्ने कार्यक्रम अगाडि बढाएको थियो । नेपालमा अभाव हुने गरेकाले मुर्रा भैँसी र जर्सी गाई भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको छ । केन्द्रका प्रमुख डा चौधरीले भने, “अनुदान पाएपछि किसानले हुर्काउँछन्, यसले दीर्घकालीनरूपमा परनिर्भरता हटाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।”

केन्द्रका अनुसार व्यास नगरपालिकाका १०७ कृषकका २०८, शुक्लागण्डकी नगरपालिकाका ३ किसानका ८, भानु नगरपालिकाका २८ किसानका ४५, आँबुखैरेनी गाउँपालिकाका ५० किसानका ८४, बन्दीपुर गाउँपालिकाका १०५ किसानका २२१, म्याग्दे गाउँपालिकाका २१ किसानका २५, ऋषिङ गाउँपालिकाका एक किसानका एक र देवघाट गाउँपालिकाका १२ किसानका १२ पाडाबाच्छीलाई प्रोत्साहन स्वरुप अनुदान दिइएको छ । रासस

lcci
You might also like

Comments are closed.