तटिय क्षेत्रका वडामा निगरानी बढाउन भरतपुर महानगरको आग्रह

चितवन । भरतपुर महानगरपालिकाको नारायणी नदीसँग जोडिएका तटिय क्षेत्रमा जनस्तरबाट निगरानी बढाउन भरतपुर महानगरपालिकाले आग्रह गरेको छ । आइतबार सिमलताल पहिरो र बस दुर्घटना स्थलको स्थलगत निरीक्षणपछि प्रमुख दाहालले भरतपुरका वडा नम्बर २९, १, ३, १६, १७, १८, २६, २७ र २८ का स्थानीयलाई सर्तक रहन आग्रह पनि गरिन् ।

‘तटिय क्षेत्रमा ६ वटा शवहरु भेटिएका छन्, उनले भनिन्, ‘सुरक्षाकर्मीसँगै तटिय क्षेत्रमा बसोबास गर्ने जनताले निगरानी बढाउँदा थप शवहरु फेला पर्दछन् । यसका लागि स्थानीय संयन्त्र पूर्ण रुपमा परिचालन भइरहेको छ ।’ भरतपुर महानगरपालिकाले दुर्घटनामा वेपत्ताहरु खोज कार्यका लागि घटना घटेको दिनदेखि आवश्यक यन्त्र, उपकरणको व्यवस्था गरिरहेको प्रमुख दाहालले स्पष्ट पारिन् ।उनले वेपत्ताको खोजी कार्यका लागि गोताखोर परिचालन भइरहेको स्थानमा निरीक्षणका साथै उद्दारमा खटिएका सुरक्षाकर्मीसँग ताजा अवस्थाबारे जानकारी लिइन् ।

होटल व्यवसायी महासंघले पीडित परिवारलाई खाना, बस्नका लागि प्रबन्ध मिलाइरहेको र पीडितलाई थप सहजीकरणको लागि भरतपुर महानगरपालिका तयार रहेको उनको भनाइ छ । महानगर प्रमुख दाहालसहित उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल तथा जिल्लास्थित सुरक्षा निकायका पदाधिकारी घटनास्थल पुगेका हुन् ।

भरतपुर २९ कोे सिमलतालमा गत शुक्रबार पहिरोसँगै त्रिशूली नदीमा खसेर दुई बसका यात्रु बेपत्ता छन् । बेपत्तामध्ये अहिलेसम्म ६ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुई बसका यात्रुको खोजी गर्न १४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन् । बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११ गोताखोरसहित ७९ जना परिचालन गरिएका छन् ।

त्रिशूली नदीको तटीय क्षेत्रका विभिन्न इलाकामा पनि फौज परिचालन गरी बेपत्ता यात्रु खोज्ने काम भइरहेको छ । पानीको सतह केही घटेपनि बहाब भने उच्च रहेकाले खोजी कार्यमा भने असहज भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए । उद्धारका लागि खटिएका सुरक्षाकर्मीले ड्रोन क्यामेरा, सोनारा क्यामेरा लगायत उपकरणको प्रयोग गरी बेपत्ता यात्रुको खोजी जारी राखेका छन् ।

You might also like

Comments are closed.