दुई सातामा तरकारीको मूल्य तेब्बरले वृद्धि

उदयपुर (गाईघाट) । जिल्ला सदरमुकाम गाईघाट बजार क्षेत्रमा दुई साताभित्र तरकारीको मूल्य साविकको भन्दा तेब्बरले वृद्धि भएको छ । निरन्तरको वर्षाका कारण ढुवानीमा समस्या हुँदा मूल्य वृद्धि भएको स्थानीय व्यापारी बताउँछन् ।

ढुवानीको समस्या देखाउँदै व्यापारीले तेब्बरले मूल्यमा वृद्धि गरेपछि उपभोक्ताले अनुगमन नहुँदा व्यापारीको मनपरी दर कायम गरेर उपभोक्ता ठगेका गुनासो गरेका छन् । त्रियुगा नगरपालिका–११ गाईघाट सङ्गम टोलका सुजाता खड्काले दुई हप्ताभित्र तरकारी र फलफूलको मूल्य तेब्बरले वृद्धि भएको बताइन् । “असारको दोस्रो सातासम्म गोलभेँडाको प्रतिकिलो रु ५० पर्नेमा अहिले रु १५० पर्छ”, उनले भनिन् ।

स्थानीय राजु धमलाले दुई साताभित्रै तेब्बरले मूल्य वृद्धि गरेर व्यापारीले वर्षा र सडकलाई माध्यम बनाएर उपभोक्ता ठगी गरिरहेका बताउँछन् । “सरोकार भएका निकायको उचित ध्यान जान नसक्दा उपभोक्ता मारमा पर्नुका साथै व्यापारीको कालाबजारी बढ्यो”, उनले भने । असारको १५ गतेसम्म बोडी प्रतिकेजी रु ६० देखि ७० रहेकामा अहिले रु १८० देखि २ सय पर्ने गरेको छ ।

“दैनिक ३ सयदेखि ४ सयको हाजिरीमा काम गरेर जीविकोपार्जन गर्ने म जस्ता श्रमिकले कसरी यती महँगो तरकारी किनेर खानु”, त्रियुगा–१२ पुरानो गाईघाटका श्रमिक देवेन्द्र चौधरीले गुनासो पोखे । फलफूल तथा तरकारी व्यापारीका अनुसार जिल्लाभित्र उत्पादनमा कमी आउँदा बाहिरबाट ढुवानी गरेर आपूर्ति गर्ने गरिएकाले वर्षासँगै मूल्य वृद्धि भएर आएको बताउँछन् ।

कृष्णप्रसाद खनाल भन्छन्, “बजार क्षेत्रमा खेतीयोग्य जमिनमा सडक विस्तार, घर निर्माण हुँदा अधिकांशले खेती गर्दैनन् । यहाँ उत्पादन नभएपछि व्यापारीले जति मूल्य भने पनि किनेर खानुपर्ने बाध्यता छ ।” यहाँ व्यापारीले सिरहाको लाहानबाट सस्तोमा सामग्री खरिद गरेर उपभोक्तालाई महँगोमा बेचिरहेको बताए । यस विषयमा सरोकारवाला निकायले प्रभावकारी बजार अनुगमन नगर्दा व्यापारीले कालोबजारी गरिरहेको उपभोक्ता बताउँछन् । रासस

lcci
You might also like

Comments are closed.