ललितपुर महानगरले सङ्कलन गर्यो लक्ष्यभन्दा बढी राजस्व

पाटन (ललितपुर) । ललितपुर महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । महानगरको राजस्व महाशाखाका प्रमुख प्रेमबहादुर थापाका अनुसार आव २०८०/८१ मा महानगरको वार्षिक लक्ष्यभन्दा छ प्रतिशत बढी राजस्व सङ्कलन भएको हो ।

“सम्पन्न आर्थिक वर्षको वार्षिक लक्ष्यअनुसार रु २ अर्ब ४० करोड राजस्व सङ्कलन हुन्छ भन्ने थियो, लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न महानगर सफल भएको छ, राजस्व प्रणालीमा भएको तथ्याङ्कअनुसार रु २ अर्ब ५५ करोड ४१ लाख ३४ हजार राजस्व सङ्कलन भइसकेको देखिएको छ, राजस्व सङ्कलनको तथ्याङ्क अद्यावधिक भइरहेको र अन्तिम तथ्याङ्क आइनसकेको छैन,” थापाले भने ।

त्यस्तै, गत आवमा महानगरले ८१ दशमलव २२ प्रतिशत पुँजीगत खर्च गर्न सफल भएको आर्थिक प्रशासन महाशाखा प्रमुख विदुरकुमार धिमालले जानकारी दिए । “गत आर्थिक वर्षको बजेटअनुसार पुँजीगत खर्चतर्फ रु ४ अर्ब २१ लाख ४६ हजार विनियोजित थियो, सोअनुसार रु ३ अर्ब २५ करोड ८ लाख ८८ हजार खर्च भएको छ,” धिमालले भने ।

राजस्व सङ्कलन र पुँजीगत खर्चमा उल्लेख्य सफलता हासिल गरेको महानगर आव २०८०/८१ मा बेरुजु रकमलाई शून्य दशमलव ४६ प्रतिशतमा झार्न सफल भएको छ । समीक्षा अवधिमा महानगरले रु ५८ करोडभन्दा बढी पुरानो बेरुजु फछ्र्याैट गरेको धिमालले जानकारी दिए । रासस

You might also like

Comments are closed.