३० हजार पर्यटकद्वारा म्याग्दी भ्रमण

म्याग्दी । एक वर्षको अवधिमा ३० हजार पर्यटकले म्याग्दी भ्रमण गरेका छन् । म्याग्दी जिल्ला प्रहरी कार्यालयका अनुसार गत आवमा २४ हजार १३० जनाले यो जिल्लाका र बाहिरिनेको ५ हजार ७८९ जना रहेको छ ।

घोडेपानी र दरवाङमा रहेको इलाका प्रहरी कार्यालयले जिल्ला भित्रने र बाहिरिने पर्यटकको विस्तृत विवरणसहितको तथ्याङ्क राख्ने गर्छन् ।आव २०७९/८० मा २९ हजार ३२८ र २०७८/७९ मा ७ हजार ९२६ विदेशी पर्यटकले भ्रमण गरेका थिए । म्याग्दीमा आउने पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी पर्यटकको रोजाइमा अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी, पुनहिल क्षेत्र पर्ने गरेको छ ।

धवलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, खोपारा, अन्नपूर्ण धवलागिरि, धवलागिरि सेञ्चुरी, धवलागिरि चक्रीय, धवलागिरि आइसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजारलगायत धार्मिक, प्राकृतिक र ऐतिहासिकस्थलको भ्रमणका लागि म्याग्दीमा पर्यटक आउने गर्छन् । छिमेकी पर्यटकीय जिल्ला मुस्ताङमा म्याग्दीको सडक भएर जाने गर्छन् । अमेरिका, फ्रान्स, इटली, जर्मनी, कोरिया, चीन, भारत, पोर्चुगल, अष्टे«लिया, नेदरल्याण्डका साथै भारतीय पर्यटक धेरै आउने पर्यटकीयस्थल घोडेपानीको होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताइन् ।

अघिल्लो वर्षको हाराहारीमा पर्यटक आए पनि अपेक्षाकृत नभएको उनी बताउँछिन् । सबैभन्दा बढी २०८० को चैतमा ५ हजार ८४९ जना पर्यटक आएको तथ्याङ्क रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीले बताइन् । विसं २०८० साउनमा ९४७, भदौमा ९७२, असोजमा ४ हजार २९८, कात्तिकमा ४ हजार ३५७, मङ्सिरमा ३ हजार १९९, पुसमा १६ सय २७, माघमा १५ सय ७७, फागुनमा २ हजार ४४४, २०८१ वैशाखमा ४ हजार १७५, जेठमा ८६ र असारमा ३८८ जना पर्यटक आएका छन् ।

आव २०७६/७७ मा ५० हजार, आव २०७५/७६ मा ७५ हजार १९१, २०७४/७५ मा ७४ हजार ७३३, २०७३/७४ मा ६९ हजार ८३७ विदेशी पर्यटकले म्याग्दी भ्रमण गरेका थिए । आव २०७२/७३ मा म्याग्दी भ्रमण गर्ने पर्यटकको सङ्ख्या ४३ हजार ६३२ जना र २०७७/७८ मा शून्य थियो । रासस

You might also like

Comments are closed.