काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् । सोमबार मन्त्रालयमा नेपाल होटल सङ्घ (हान) का पदाधिकारीसँगको भेटमा उनले यस्तो बताएका हुन् । मौद्रिक नीतिमा छलफल भइरहेको र केही दिनभित्रै मौद्रिक नीति आउने बताउँदै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे आवश्यक छलफल गरेर सञ्चालन गर्ने जानकारी दिएका छन् ।
‘‘यहाँहरूले राख्नुभएका समस्याहरूमध्ये मौद्रिक नीतिमा छलफल चलिरहेको छ । केही दिनभित्र टुङ्गोमा पुग्छ । सामान्यतया अहिलेको क्राइसिसलाई पनि मौद्रिक नीतिले सम्बोधन गरोस् भन्ने धेरैतिरको अपेक्षा छ । विमानस्थल सञ्चालन गर्नेकुरामा केही बैठक बसेर त्यो सञ्चालनमा जान सकिन्छ । जानुपर्छ, जाने नै हो । अलिकति अलिकति ढिलो भएको छ ।,’’ मन्त्री पौडेलले भने, ‘‘हामी भर्खर त आइपुग्यौँ । यसलाई हामी गम्भीरताका साथ लिन्छौँ । होटललाई उद्योगको मान्यता भनेको त उतिबेलै हामीले निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वको सरकारको पालामा बजेटमा होटललाई उद्योग क्षेत्रको मान्यता दिने भनेर लिएर आएको हो । त्यसको निरन्तरता हुनुपर्दथ्यो । नीति निरन्तरताको धेरै ठुलो अर्थ हुन्छ ।’’
मन्त्री पौडेलले होटललाई उद्योगको मान्यता दिनेकुरामा सरकार गम्भीर रहेको पनि बताए । उनले नीतिको निरन्तरता हुन नसक्दा समस्या पैदा भएको जिकिर गरे । अर्थमन्त्रीसँगको भेटमा नेपाल होटल सङ्घ (हान) का अध्यक्ष विनायक साहले ३०/३५ लाख पर्यटकलाई सेवा दिनसक्ने भए पनि बर्सेनि १० लाखभन्दा बढी पर्यटक नआएको भन्दै धेरैभन्दा धेरै पर्यटक आउने वातावरण मिलाउन आग्रह गरेका छन् । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउन आग्रह गर्दै सडक पूर्वाधारहरू सुरक्षित नहुँदा पनि पर्यटकहरू नेपाल आउन नचाहने गरेको बताएका छन् ।
‘‘हामी ३०/३५ लाख पर्यटकलाई सेवा दिनसक्छौँ तर हामी कहाँ १० लाखको हाराहारीमा पर्यटक आउनु हुन्छ । हामीसँग दुई वटा एयरपोर्ट तयार भएको छ तर सञ्चालनमा आएको छैन । विभिन्न स्थानको सडक राम्रो नहुँदा मानिसहरू आउन चाहेका छैनन् ।,’’ अध्यक्ष साहले भने, ‘‘आउँदो मौद्रिक नीतिमा बैङ्कबाट लिएको ऋण तिर्ने समय केही थप गरिदिन आग्रह गर्छु । कालोसूचीमा राखिदिन्छ, लिलाम गरिदिन्छ । हामी पलायनको अवस्थामा छौँ । दुई विमानस्थल चलाउनसके हामीले भारतीय र चिनियाँ पर्यटक धेरै ल्याउन सक्छौँ । होटललाई उद्योगको मान्यता दिनुपर्छ ।’’ अध्यक्ष साहले होटल व्यवसायीहरूले बैङ्कबाट लिएको ऋण तिर्ने समय आउँदो मौद्रिक नीतिबाट थप गरिदिन आग्रह गरेका छन् ।
Comments are closed.