रामपुर नगरपालिकामा सेवा करारमा कार्यरत कर्मचारीलाई अभिमुखीकरण कार्यक्रम

रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिकाले सेवा करारमा कार्यरत कर्मचारीको लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । करारमा कार्यरत कर्मचारीलाई थप जिम्मेवार बनाउनुका साथै उनीहरुको समस्या पहिचान गरी सम्बोधन गर्ने उद्देश्यले नगरपालिकाले सेवा करारमा कार्यरत कर्मचारीलाई लक्षित गरी अभिमुखीकरण तथा अन्तक्र्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रममा कर्मचारीले राखेका प्रश्न तथा जिज्ञासाबारे प्रष्ट पार्दै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले सबै तहका कर्मचारीलाई भेदभाव नगरी नगरपालिकाले समान व्यवहार गर्दै आएको बताए । नगरलाई वर्तमान अवस्थासम्म ल्याउनका लागि कर्मचारीको महत्वपूर्ण भूमिका रहेको भन्दै थापाले नगरको स्रोत र साधनले भ्याएसम्म कर्मचारीको सेवा सुविधामा नगरपालिकाले विशेष ध्यान दिदै आएको बताएका छन् ।

नगरपालिकाले गत वर्ष देखि कर्मचारी कल्याणकारी कोष स्थापना गरेको जानकारी दिदै कार्य सम्पादनका आधारमा कर्मचारीको वृति विकासमा थप व्यवस्था गरिने, कर्मचारी र जनप्रतिनिधिको परीक्षा सधैं हुने भएकाले जिम्म्मेवार भएर अघि बढ्न आग्रह गरेका छन् । नगरको विकास र कार्यसम्पादनको मुख्य मेरुदण्ड कर्मचारी रहेको बताउँदै जनताको सेवामा समर्पित भएर अघि बढ्न सुझाव दिएका छन् ।

नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले कर्मचारीलाई आचारसंहिता पूर्ण रुपमा पालना गर्दै अघि बढ्न अनुरोध गरिन् । कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न नगर उपप्रमुख थापाको आग्रह छ । निमिक्त प्रमुख प्रशासकिय अधिकृत चेमनप्रकाश पोखरेलले अधिकारको कुरा गर्दै गर्दा कर्तव्यलाई भुल्न नहुने बताएका छन् । नगरपालिकामा कार्यरत कर्मचारीमध्ये ६६ प्रतिशत करार सेवाका कर्मचारी रहेको बताउँदै स्वमुल्याङ्कन गरेर कार्यसम्पादन गर्न अनुरोध गरेका छन् । रामपुर नगरपालिका–५, का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले कर्तव्य निष्ठ भएर लाग्न आग्रह नगरपालिकाको हितमा काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रशासन शाखा प्रमुख युवराज पन्थीले कर्मचारीको काम कर्तव्य, अधिकार र आचारसंहिताको बारेमा अभिमुखिकरण कार्यक्रमको सहजिकरण गरेका हुन् । कर्मचारीले कर्मचारी कल्याणकारी कोष स्थापना गरेकोमा धन्यवाद दिएका छन् । नगर प्रमुख थापाको अध्यक्षतामा भएको कार्यक्रम उपप्रमुख थापाको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गरेका हुन् । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि संगै करार सेवामा कार्यरत सम्पूर्ण कर्मचारीको सहभागी थिए ।

रामपुर नगरपालिकामा करार कर्मचारी मञ्च गठन भएको छ । कर्मचारीको भेलाले कृष्णबहादुर थापाको अध्यक्षतामा ११ सदस्य तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्ष सविता राना, सचिवमा गणेशप्रसाद रेग्मी, कोषाध्यक्षमा नारायणप्रसाद गैरे र सहसचिवमा शंकर कंडेललाई चयन गरिएको छ । अन्य सदस्यमा रहेका छन् । भेलाले बासुदेव ढकालको संयोजकत्वमा ५ सदस्यीय सल्लाहाकार समिति गठन गरेको छ । समितिको सदस्यमा दानबहादुर हिस्की, विष्णुमाँया अर्याल, महेन्द्रप्रसाद श्रेष्ठ र खिम कुमारी सुनार रहेका छन् ।

 

You might also like

Comments are closed.