तानसेनका कृषकलाई कृषियन्त्र तथा मौरीघार वितरण

पाल्पा । पाल्पाको तानसेन नगरपालिकाले नगरपालिकाले कृषकहरूलाई कृषियन्त्र तथा मौरीघार वितरण गरेको छ । कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर, मौरीघार र डिजिटल तराजु प्रदान गरिएको हो ।

तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठ, नगर उपप्रमुख प्रतिक्षा सिंजाली, प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले संयुक्त रूपमा कृषकलाई कृषियन्त्र तथा मौरी सम्बन्धी सामाग्री वितरण गरेका हुन् । नगरपालिकाले तानसेनका वडा कार्यालयबाट सिफारिस भएर आए बमोजिम ४७ जनालाई हाते ट्याक्टर, ४८५ जनालाई मौरीघार र मौरीजन्य सामाग्री तथा ५८ जनालाई डिजिटल तराजु प्रदान गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख सरोज तिमिल्सिनाले बताए ।

नगर प्रमुख श्रेष्ठले परम्परागत कृषि प्रणालीलाई यान्त्रिकरण र व्यवसायीकरण गर्न नगरपालिकाले कृषियन्त्र तथा मौरी सम्बन्धी सामाग्री वितरण गरेको बताए । तानसेन नगरपालिकाको सम्भावना कृषि र पर्यटनबाट नै सम्भव रहेको नगर प्रमुख श्रेष्ठ बताउँछन् । उनी भन्छन्, ‘तानसेन नगरपालिकाको अधिकाश भु–भाग ग्रामीण परिवेश रहेको छ, ग्रामीण परिवेशका अधिकांश नागरिकहरू कृषि र पशुपालन पेशामा आवद्व रहेका छन्, नगर सरकारले कृषकको मागलाई मध्येनजर गरी वडा कार्यालयको सिफारिस बमोजिम अनुदानमा कृषियन्त्र तथा मौरी सम्बन्धी सामाग्री वितरण गरिएको हो, कृषिमा यान्त्रिककरण र आधुनिकिकरणको अभावले नगर क्षेत्रमा लक्ष्य अनुसारको उब्जनी हुन सकेको छैन् ।’

खनजोतदेखि मलजलसम्मका विविध पक्षमा आवश्यक ज्ञान तथा साधन नहुँदा पनि कृषि क्षेत्रमा निकै समस्या देखिएको र नगर सरकारले यसतर्फ ध्यान दिदै कृषकलाई कृषियन्त्र तथा मौरी सम्बन्धी सामाग्री वितरण गरेको बताएका छन् । नगर सरकारले नगरभित्रका मौरीपालन सम्भावना हुने क्षेत्रलाई मौरीपालन पकेट क्षेत्रको रूपमा विकास गर्न खोजेको बताए । सोही अनुरूप नगर सरकारले करिब ४८५ जना कृषकलाई मौरीघार र मौरीजन्य सामाग्री प्रदान गरेको बताउँदै आगामी बर्ष थप मौरीपालनको सम्भाव्यता अध्ययन गरी पकेट क्षेत्रको रूपमा अगाडि बढाउने उनको भनाई छ ।

उपप्रमुख सिंजालीले हाते ट्याक्टरमार्फत कृषिकर्ममा लागेका किसानलाई आधुनिक कृषि प्रणालीसंग जोड्न सजिलो हुने, खेत तथा पाखोबारीमा पनि सजिलै प्रयोग गर्न सकिने भएकाले किसानलाई हाते ट्याक्टर दिइएको बताइन् । आर्थिक समृद्धिका लागि कृषि नै पहिलो रोजाई भएकाले नगरपालिकाले कृषि र बन पैदावारको औद्योगिकरण गरी रोजगारीमा ध्यान दिन आवश्यक रहेको र सोही अनुरूप नगर सरकारले आफ्ना गतिविधि अगाडि बढाएको उनी बताउँछिन् । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नागिलाले कृषियन्त्र खरिद बापत हाते ट्याक्टर, चापकटर र डिजिटल तराजु कुल रु ४० लाख बजेटबाट र मौरीजन्य सामाग्री कुल रु २० लाख बजेटबाट वितरण गरेको बताए ।

नगरपालिकाले उपलब्ध बजेट र किसानको मागका आधारमा नगर भित्रका विभिन्न व्यक्ति, समुह, फर्म र सहकारीलाई अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो । घर भन्दा टाढा रहेका जग्गामा गोरुद्धारा हलो लिई खनजोत गर्न नसकी बाँझो रहेका जग्गा अब प्रयोगमा आउने कृषक चन्द्रबहादुर सोमैले बताए । उनले कृषियन्त्र तथा मौरी सम्बन्धी सामाग्री फागुनभित्र नै वितरण गर्नुपर्ने तर वितरण ढिलो भएकोमा गुनासो गरेका छन् ।

कार्यक्रममा तानसेन वडा न १ का वडाध्यक्ष सुनिलकुमार बस्याल, वडा न ४ का वडाध्यक्ष हेमन्तराज शाक्य, वडा न ६ का वडाध्यक्ष सागरमान महर्जन, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरू, कृषकहरू लगायत सहभागी थिए ।

You might also like

Comments are closed.