काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्का घटनामा परी ज्यान गुमाएका परिवारलाई रु ६ करोड बराबरको राहत रकम उपलब्ध गरएको छ । विसं २०७६ चैतदेखि साउन पहिलो साता २०८१ सम्म ३४४ पीडितपरिवारलाई प्रदेश सरकारले सामूहिक बीमावापत रु ६ करोड ८८ लाख राहतस्वरूप उपलब्ध गराएको हो ।
पहिलो चरणमा विभिन्न प्राकृतिक विपद्मा परी ज्यान गुमाएका ५९ जनाका परिवारलाई बीमावापत रु १ करोड १८ लाख रकम प्रदान गरिएको थियो । प्रतिव्यक्ति रु २ लाखका दरले दोस्रो चरणमा ४७ जनालाई रु ९४ लाख, तेस्रो चरणमा ६६ जनालाई रु १ करोड ३२ लाख र चौथो चरणमा १७२ जनालाई रु ३ करोड ४४ लाख बीमा रकम प्रदान गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । उक्त रकम राष्ट्रिय बीमा कम्पनीमार्फत उपलब्ध गराइएको हो ।
मन्त्रालयले आव २०८०÷८१ को साउनदेखि असार मसान्तसम्म भूकम्प, बाढी, पहिरो, चट्याङ, आगलागीजस्ता प्राकृतिक विपद्बाट मृत्यु भएका १७१ जनाका परिवारलाई रु ३ करोड ४२ लाख भुक्तानी गरेको छ । विशेषगरी जाजरकोट भूकम्पमा परी मृत्यु भएका १५१ व्यक्तिका परिवारलाई रु २ लाखका दरले रु ३ करोड बीमामार्फत भुक्तानी गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् व्यवस्थापन शाखाका प्रमुख कृष्णबहादुर रोकायाले जानकारी दिए ।
उनका अनुसार कागजी प्रक्रिया नमिलेका कारण जाजरकोट भूकम्पबाट मृत्यु भएका तीनजनाको रकम भुक्तानी प्रक्रियामा रहेको छ । त्यसैगरी गत वर्ष भूकम्पबाहेक अन्य विपद्मा परी मृत्यु भएका २० जनाका परिवारलाई रु ४० लाख बीमामार्फत भुक्तानी गरिएको छ । कर्णालीका १७ लाख व्यक्तिको विपद् सामूहिक दुर्घटना बीमा गरेअनुसार बीमा रकम उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । रासस
Comments are closed.