पोखरा । पोखरा महानगरपालिले आइतबारदेखि बजार अनुगमन सुरु गरेको छ । बजारमा मुल्यबृद्धि, मिसावट र जनस्वास्थ्यमा असर गर्ने गरी मासुज जन्य तथा खाद्य सामग्री बिक्री वितरण भइहेको जनगुनासो आएपछि अनुगमन सुरु गरिएको महानगरले जनाएको छ ।
गुनासो आएपछि पहिलो चरणमा माछा र मासुुमा अनुुगमन सुरु गरिएको हो । महानगरका उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा पोखराको श्रीकम्पलेक्स, सृजनाचोक र पृथ्वीचोकमा रहेका १७ वटा माछा र मासु पसलमा अनुुगमन गरेको हो । अनुगमनका क्रममा कुहिएर खाना योग्य नभएको २१९ केजी माछा र खसिको मासु १५ केजी गरी २३४ केजी जफत र उनीहरुलाई जरिवाना गरिएको छ ।
जफत गरिएको माछा र मासु भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीको जैविक डिस्पोजल पीटमा डिस्पोज गरिएको पोखरा महानगर बजार अनुगमन समितिका सदस्यसचिव अनिल कार्कीले जानकारी दिए । अनुगमनका क्रममा कुहिएको माछा फेला परेपछि उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित गराई जरिवाना गरिएको छ ।
यहाँका १७ वटा मध्ये १० वटा माछा पसललाई ५० हजारदेखि १५ हजारसम्म जरिवाना गरिएको छ । जरिवानाबाट २ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन समेत भएको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए । अनुगमनका क्रममा पोखरा महानगरपालिका वडा नम्वर ९ बसपार्कमा सञ्चालन रहेको लाचन फिस सप्लायर्सबाट १ सय केजी, पोखरा ९ बसपार्कमा रहेको माछाको होसल गर्ने राजु फिस हाउसबाट ८० केजी कुहिएको माछा जफत गरी दुवैलाई ५०/५० हजार जरिवाना गरिएको छ ।
पोखरा ८ सृजनाचोकमा रहेको सद्धाम फ्रेस हाउसबाट खानयोग्य नभएको ८ केजी माछा र खसिको मासु, जस्मिन फ्रेस हाउसबाट ७ केजी खसिको मासु जफत गरिएको थियो भने दुबै पसललाई ३०/३० हजार रुपैयाँ जरिवाना गरिएको छ । अनुगमन टोलीले पोखरा ८ श्री कम्प्लेक्समा सञ्चालनमा रहेको न्यू रमेश फिस हाउसबाट १३ किलो ३ सय ग्राम सडेको माछा भेटिएको र सो माछा जफत गरी २० हजार रुपैयाँ जरिवाना गरिएको छ । न्यु सुुमन फिस हाउस, सुरज फिस हाउस, नमुना मत्स्य बिक्री केन्द्र लगायत ५ वटा पसललाई १५ हजारका दरले जरिवाना गरिएको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए ।
अनुगमनमा पसल नविकरण नभएको, सरफाइ नभएको, सिसा, जाली नलगाई बाहिर बेच्ने गरेको, डि फ्रिज नभएको, माछा पसल सञ्चालनका लागि तालिम नलिएको, फोहोर पानीको प्रयोग गरेको, पसल दुर्गन्धित देखिएकाले जरिवाना गरिएको र आइन्दा यस्तो भेटिएमा पसल बन्द गराउने चेतावनी सहित छाडिएको छ । माछा तथा मासु बिक्री गर्ने अन्य ७ वटा पसललाई मुल्यसुचि राख्न, पसल सरसफाई गर्न, पसल दर्ता गरी मापदण्ड अनुसार सञ्चालन गर्न सुझाव दिदै पुनः दोश्रो पटक पनि अटेर कारबाही गर्ने सर्तमा छोडिएको छ ।
पोखरा महानगरपालिकामा गुनासो र नेपालीहरुका चाडपर्वहरु पनि सुरुवात भएकाले बजार अनुगमन सुरुवात गरिएको महानगरका उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक मञ्जुदेवी गुुरुङले जानकारी दिइन् । विगतमा भएका अनुगमनले बजारमा केही सुुधार देखिएको भएपनि सोचे जस्तो नदेखिएको बताउदै अव नियमित अनुुगमन गरिने उनले बताइन् । उपप्रमुुख गुुरुङले अनुुगमनका क्रममा दिइएको सुझावलाई कार्यान्वयन नगर्ने र फेरी गलत भेटिएमा जरिवाना सहित अन्य कानुनी कारबाही गरीने बताइन् । उनले उपभोक्ताहरु स्वयम सचेत बन्नुपर्ने र महानगरले सचेतनामुलक कार्यक्रम गर्ने बताइन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत भिष्मराज अर्यालले माछा पसल दर्दनाक देखिएको बताए । उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने देखिएको र उपभोक्ता हकहित संरक्षण ऐन अनुसार कारबाही गरिएको उनले बताए । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा(घ) को कसुरमा दफा ३९ बमोजिम कारबाही गरिएको छ ।
अनुगमनमा महानगरका उपप्रमुख एवं अनुुगमन समिति संयोजक मञ्जुुदेवी गुरुङ, वडा अध्यक्ष रुद्रनाथ बराल, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत भिष्मराज अर्याल, महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया, भेटेनरी हस्पिटल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भुराज पाण्डे, पोखरा महानगरपालिका बजार अनुगमन समितिका सदस्यसचिव अनिल कार्की, पशु चिकित्सक डा अनन्त कोइराला, पत्रकार लगायत सहभागी थिए ।
Comments are closed.