जन्म, मृत्युदर्ता गराउँदा आर्थिक सहयोग

त्रिशूली (नुवाकोट) । विदुर नगरपालिका–५ कार्यालयले वडाभित्र हुने घटना दर्ताअन्तर्गत जन्म र मृत्युमा रु पाँच हजार उपलब्ध गराउने भएको छ । गत आर्थिक वर्षदेखि शिशु जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराए रु ५ हजार उपलब्ध गराउन सुरु गरेको वडाले चालु आवदेखि मृत्यु भएका व्यक्तिको परिवारलाई पनि रु ५ हजार उपलब्ध गराउन सुरु गरेको हो ।

उक्त कार्यक्रम नगरसभाबाट स्वीकृत गराई वडाले आफ्नै बजेटमा सहयोग रकम उपलब्ध गराउन सुरु गरेको वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिए । गत वर्ष बच्चा जन्मेको ३५ दिनभित्र दर्ता गराए उक्त बच्चाको नाममा बैंक खाता खोल्न लगाई परिवारले रु ५ हजार जम्मा गरेपछि वडाले त्यति नै रकम जम्मा गर्न ल्याएको कार्यक्रम प्रभावकारी बनेको छ ।

यस वर्षदेखि वडाबासी कोही व्यक्तिको निधन भएमा ३५ दिनभित्र घटना दर्ता गराए परिवारलाई रु ५ हजार राहत दिन लागिएको छ । बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र वयस्क हुने समयमा बैंक खातामा केही रकम सुनिश्चित होस् भन्ने उद्देश्यले बच्चाको जन्मदर्तासँगै रु ५ हजार बैंक दाखिला गराउँदै आएको वडाध्यक्ष न्यौपानेले बताए ।

वडामा विपन्न तथा आर्थिक अवस्था कमजोर भएका परिवारलाई मृत्युपश्चात्का संस्कार गर्न गाह्रो छ । सुखमा मात्र होइन, दुःखमा पनि सरकारको साथ हुनुपर्छ भनेर राहतस्वरुव ५ हजार प्रदान गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याएको वडाध्यक्ष न्यौपानेको भनाई छ । रासस

You might also like

Comments are closed.