पोखरामा सशस्त्र प्रहरीको अगुवाईमा डेंगी नियन्त्रण अभियान

पोखरा । पोखरा महानगरपालिकाको वडा नं ५ र ८ मा डेंगी नियन्त्रण अभियान सुरु गरिएको छ । डेंगीले महामारीको रुप लिन थालेपछि मालेपाटनस्थित सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण हेडक्वाटर्स् कास्कीको अगुवाईमा सो अभियान थालिएको हो ।

पोखरा ५ र ८ का वडाध्यक्ष, स्वास्थ्य कार्यालय कास्की, नेपाल रेडक्रस सोसाईटी कास्की शाखा, विभिन्न मानव अधिकार एवं नागरिक अभियान्ता लगायत स्थानीय समुदायको सहभागीतामा डेंगी नियन्त्रण अभियान चलाइएको छ । संवेदनशिल स्थानमा डेंगी खोज्ने तथा नष्ट गर्ने कार्य गरिएको कालिका गणका गणपति (एसपी) अरुण कुमार शर्माले जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीका अनुसार यही भदौ ५ गते सम्म कास्कीमा कुल ९७९ जनामा डेंगी सङ्क्रमण देखिएकोमा २ जनाले ज्यान समेत गुमाएका छन् । सबैभन्दा धेरै सङ्क्रमित भएको वडामा क्रमशः पोखरा महानगरपालिका ८ मा १५७ जना, ५ मा ८६ जना, ७ मा ३७ जना र १७ मा ३५ जना रहेकाले अवस्था गम्भिर हुनेतर्फ उन्मुख भएकाले सशस्त्र प्रहरी बलको कालिका गणलाई अगुवाई गर्न अनुरोध गरिएको समेत हो ।

पोखरा महागरपालिकाको मुख्य क्षेत्रका रुपमा रहेका ५ र ८ वडामा वर्कशप, ग्यारेज, कवाडी डिपो र धेरै जनाको बसोबास रहेकाले अन्य वडाको तुलनामा डेंगी बढी फैलिएको आँकलन गरिएको छ । डेंगी नियन्त्रण अभियानमा कालिका गण वृहत रुपमा परिचालन भएको गणपति (एसपी) अरुणकुमार शर्माले जानकारी दिए ।

डेंगी खोज्ने तथा नष्ट गर्ने अभियानमा वडा नं. ८ मा ५० जना र ५ मा ७० जना गरी कुल १२० जना सशस्त्र प्रहरी परिचालित भएका थिए । स्थानीय तथा अन्य सरोकारवाला निकायबाट सहभागीता रहेको शर्माले जानकारी दिएका छन् ।

You might also like

Comments are closed.