साउनमा रु ३ अर्ब ७५ करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको साउनमा रु ३ अर्ब ७५ करोड राजस्व सङ्कलन गरेको छ ।

भन्सार विभागले कार्यालयलाई चालु आवको साउनमा रु ४ अर्ब ७३ करोड ३१ लाख ४५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले सो अवधिमा लक्ष्यको ७९ दशमलव २८ प्रतिशत अर्थात् रु ३ अर्ब ७५ करोड २२ लाख ११ हजार राजस्व सङ्कलन गरेको जनाएको छ ।

भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालु आवको पहिलो महिनामा राजस्व सङ्कलन उत्साहजनक देखिएको दाबी गरे । “चालु आवको साउनमा राजस्व सङ्कलनमा औसतमा उत्साहजनक देखिएको छ । भदौको समग्र राजस्व सङ्कलनले आगामी दिनको दिशानिर्देश गर्नेछ”, उनले भने ।

भन्सार विभागले कार्यालयलाई गत आवको साउनमा रु ४ अर्ब २४ करोड ६३ लाख ३५ हजार लक्ष्य निर्धारण गरेकामा सो अवधिमा लक्ष्यको ९६ दशमलव ०१ प्रतिशत अर्थात् रु ४ अर्ब ७ करोड ६९ लाख ९५ हजार राजस्व सङ्कलन गरेको थियो । कार्यालयको गत आवको साउनको तुलनामा चालु आवको साउनमा राजस्व सङ्कलन रु ३२ करोड ४७ लाख ८४ हजारले घटेको छ ।

प्रमुख भन्सार अधिकृत बरुवालले गत आवको साउनको तुलनामा चालु आवको साउनमा समग्रमा राजस्व सङ्कलनमा केही कमी आएको बताउनुभयो । कार्यालयले आव २०७९/८० को साउनमा भने रु ३ अर्ब ६१ करोड ८५ लाख २ हजार राजस्व सङ्कलन गरेको थियो । रासस

You might also like

Comments are closed.

Secret Link