लेखनाथ उद्योग वाणिज्य संघद्वारा व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले कुनै पनि बस्तु र सेवामा हुने लापरवाही अर्थात उपभोक्ता हित विपरीत हुने क्रियाकलापबिरुद्ध तत्कालै उजुरी दिनको लागी उपभोक्ताका लागी व्यवस्था गरेको अनलाईन प्रणालीको क्यूआर कोड संघले आफ्ना व्यवसायीलाई हस्तान्तरण गरेको हो ।

क्यूआर कोड हस्तान्तरण गर्दै संघका अध्यक्ष विनोद श्रेष्ठले जिल्ला प्रशासन कार्यालय कास्कीले गत मंगलबारदेखी उपभोक्ता अधिकार संरक्षणका लागि उजुरी, गुनासो र सुझावका लागि लागु गरेको क्यूआर कोडसहितको अनलाइन प्रणाली नेपालमै पहिलो पटक भएको र सबै व्यवसायीले आ–आफ्नो व्यवसाय एवं सेवा क्षेत्रमा टाँसी उपभोक्ता अधिकार सुरक्षित गर्ने कार्यमा सहयोग पुर्याउन अनुरोध गरेका छन् । श्रेष्ठले क्यूआर कोड कार्यान्वयनको प्रतिवद्धता जनाउँदै नियतवश उजुरी दिनेमाथि पनि कारवाही हुनुपर्नेमा पनि जोड दिएका छन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीले क्यूआर कोडसहितको अनलाइन प्रणाली सञ्चालनबाट अव उपभोक्तालाई गुनासो राख्न सहज भएको र व्यवसायी तथा सेवा प्रदायकलाई सुध्रने मौका मिलेको बताए । उनले भने ‘अबदेखी व्यवसायीहरु एवं सेवा प्रदायकहरु वर्षैभरी ३६५ दिन नै प्रशासनको अनुगमनमा रहनेछन्, यसबाट सेवासुविधालाई थप गुणस्तरीय बनाउन मद्धत पुग्ने विश्वास छ ।’

यस्तै संघका निवर्तमान अध्यक्ष क्षत्रधर आत्रेयले उपभोक्ताको अधिकार संरक्षणका लागि कास्की प्रशासनले सुरु गरेको कामप्रति धन्यवाद दिदै यस्तो प्रणालीले कास्कीमा गुणस्तरीय सेवा र बस्तु पाइन्छ भन्ने वातावरण सिर्जना गर्ने दावी गरे । साथै यसको व्यापक प्रचारको आवश्यक रहेको र संघका सबै बजार इकाईले व्यवसायीमाझ छलफल चलाएर कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिए । उनले भने ‘ठगिइरहेका उपभोक्ताले कसरी यो क्यूआर कोड प्रयोग गर्न सक्छन भन्ने सचेतना फैलाउन आवस्यक छ साथै स्थानीय तहले पनि यसको व्यापक प्रचार गर्नु आवश्यक छ ।’

कार्यक्रममा सहभागी व्यवसायीले बस्तु तथा सेवा बिस्तार, प्रविधिसहितको व्यवसायिक गतिविधि बढीरहेकाले अहिले सूचना प्रविधिको उपयोग गरी बजार निरीक्षणको एउटा उपाय अपनाइएको र बजार निरीक्षणको काम पनि हुने बताउँदै यसको दुरुपयोग पनि हुन सक्नेतर्फ ध्यान दिनुपर्ने बताएका छन् । व्यवसायीलाई दुख दिने नियतले झुटो गुनासो गरिएको पाईएमा त्यस्ता व्यक्तिलाई समेत कारवाहीको दायराम ल्याउन उनीहरुले सुझाव दिएका छन् ।

You might also like

Comments are closed.

Secret Link