सुशीला रेग्मी
रामपुर (पाल्पा) । पाल्पाका २१ जना पत्रकार पुरस्कृत तथा सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघमा स्थापना भएका विभिन्न अक्षयकोषबाट जिल्लामा रहेर पत्रकारिता क्षेत्रमा योगदान गरेका तथा क्रियाशिल पत्रकारलाई सम्मान गरिएको छ ।
लुम्बिनी मेडिकल कलेजले स्थापना गरेको ५० हजार राशिको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट शाखाका पूर्वअध्यक्षहरु झपेन्द्र गहिरे र भगवान भण्डारी पुरस्कृत भएका छन् । २५ हजार नगदसहित मेघ–गोविन्द–झपेन्द्र पत्रकारिता पुरस्कारबाट शाखाका संस्थापक सचिव तथा वर्तमान उपाध्यक्ष भरत शर्मा, तानसेन नगरपालिकाबाट स्थापित १५ हजार राशिको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकारहरु कृष्ण कार्की, यम गाहा र मुक्तिप्रसाद न्यौपाने पुरस्कृत गरिएको छ ।
रामपुर नगरपालिकाले स्थापना गरेको १० हजार राशिको ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकारहरु सुशीला रेग्मी र रमा भण्डारी, जिल्ला समन्वय समितिले राखेको १० हजार राशिको सृजनशील पत्रकारिता पुरस्कारबाट पत्रकारहरु मिलन विक, कृष्ण दर्नाल र सिता डोटेल पुरस्कार प्रदान गरिएको छ । साथै ७ हजार ५ सय राशिको सामाजिक जागरण पत्रकारिता पुरस्कारबाट पत्रकार दयाराज न्यौपाने र ५ हजार राशिको मानवअधिकार पत्रकारिता पुरस्कारबाट पत्रकार नारायण न्यौपाने पुरस्कृत भएका छन् ।
यस्तै ४ हजार राशिको लेखनवृत्ति पत्रकारिता पुरस्कारबाट पत्रकारहरु रीमा सोमै, वीरेन्द्र घिमिरे, रामचन्द्र रायमाझी, विष्णु खनाल, कमल अधिकारी, नेत्र गैरे, सुनिल कार्की, धनबहादुर ठाडालाई पुरस्कृत तथा सम्मान गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, वरिष्ठ पत्रकार मेघराज शर्मा, लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्तीमगर, प्रदेश अर्थमन्त्री धनबहादुर कार्की, स्वास्थ्यमन्त्री खेमबहादुर सारु, रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, महासंघका शाखा अध्यक्ष रेखीराम राना लगायतले पुरस्कार प्रदान गरेका हुन् ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले पुरस्कार पिवपतरण गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा आउने बताएका छन् । उनले अन्तर्राष्ट्रिय विमानस्थल अगाडी बढाउन पहल भइरहेको हुदा अब छिट्टै सञ्चालन हुने बताएका हुन् । लुम्बिनी आएका पर्यटकलाई पाल्पा, गुल्मी हुँदै बाँके, बर्दियासम्म लुम्बिनी सर्किटको रुपमा जोड्ने योजना बताउँदै मुख्यमन्त्री आचार्यले पहाड र तराई क्षेत्र जोड्नका लागि सो योजना रहेको बताउनुहुदै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशको पर्यटकीय क्षेत्र अगाडी बढाउन पहल गरिरहेको जानकारी दिए ।
भ्रष्ट्रचार न्युनिकरण गर्न, सुशासन कायम गर्न प्रदेश सरकार लागेको बताउँदै उनले रु ५ लाख भन्दा माथिका योजना प्रतिष्पर्धाका माध्यमबाट अगाडी बढाउने जनाए । नयाँ सरकार बनेको एक महिनाको अवधीमा प्रदेश सरकारले केही सुधारात्मक काम गरेको र अघिल्लो सरकारको कामलाई पनि निरन्तरता दिइने मुख्यमन्त्री आचार्य बताउँछन् ।
कार्यक्रममा पत्रकार महासंघ पाल्पाका संरक्षक मेघराज शर्मा, लुुम्बिनी प्रदेशका सभामुख बसन्त घर्ती मगर, संघीय सांसदहरु ठाकुर गैरे, नारायण आचार्य, लुुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारु, आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रदेश सांसद तथा पूर्वमन्त्री वीरबहादुर राना, नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, अक्षयकोषदाता तथा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, अक्षयकोषदाता तथा लुुम्बिनी मेडिकल कलेजका अध्यक्ष गोपाल पोखरेल, महासंघका सल्लाहकार राजेशकुमार अर्याल, पुरस्कार छनोट समितिका संयोजक तथा महासंघका सल्लाहकार गोविन्द भट्टराई लगायतले सरकारका कमीकमजोरी, विकृति, विसंगतीका बारेमा खुलेर कलम चलाउन आग्रह गरेका छन् ।
सोही अवसरमा प्रदेश स्वास्थ्य मन्त्री खेम सारुले आफ्नो बुवाको स्मृतिमा शिक्षा र स्वास्थ्य क्षेत्रमा कलम चलाउने पत्रकारहरुका लागि २५ हजार ५ सय बराबरको अक्षयकोषको स्थापनाको घोषणा गरेका छन् ।
महासंघका अध्यक्ष रेखीराम रानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष भरत शर्मा र सञ्चालन सचिव यज्ञमुर्ति तिमल्सीनाले गरेका हुन् ।






Comments are closed.