पर्वत । मोदी गाउँपालिका–६ थामर्जुङका बासिन्दाले देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले सडक ढलान गरेका छन् । गाउँ जोड्ने सडक कच्ची र जीर्ण हुँदा पनि मर्मत र स्तरोन्नतिका लागि कुनै पनि निकायले सहयोग नदिएपछि देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले सडक ढलान गरेका हुन् ।
डिमुवा–तिलाहार–थामर्जुङ सडकको स्तरोन्नतिका लागि स्थानीय मोदी गाउँपालिकाका साथै कुनै राजनीति दल तथा सङ्घ र प्रदेश सरकारको समेत प्राथमिकतामा नपरेपछि देउसीभैलो खेलेर रकम सङ्कलन गरिएको स्थानीयले बताएका छन् । बाढीपहिरोका कारण सडक सुविधाबाट गाउँ नै वञ्चित भएपछि गाउँले मिलेर देउसीभैलो कार्यक्रम सञ्चालन गरेका थिए ।
थामर्जुङमा १५५ घरपरिवार छन् । सोही गाउँमा खेलिएको देउसीभैलोबाट गत वर्षको तिहारमा रु १० लाख सङ्कलन भएको स्थानीय चन्द्रबहादुर नेपालीले बताए । विभिन्न निकायमा सडक स्तरोन्नतिका लागि हारगुहार गर्दा पनि सुनुवाइ नभएपछि गाउँवासी आफैँ जुटेर ढलान गरिएको उनी बताउँछन् ।
“पालिका, प्रदेश र सङ्घीय सरकारमा हाम्रो पहुँच पुगेन, अन्य सामाजिक कार्य गर्न देउसी खेलेर सङ्कलन गरेको रकम सडक ढलानमा खर्च गरेका छौँ”, स्थानीय नम्रता बस्यालले भनिन् । उनले बिरामी उपचारका लागि अस्पतालसम्म लैजान समस्या भएपछि गाउँवासीको सक्रियतामा सडक ढलान गरेपछि अहिले सहज भएको बताइन् ।
स्थानीयले देउसीभैलो खेलेर सङ्कलन गरेको रु १० लाख र गाउँपालिकाको सहलगानी कोषबाट रु १५ लाख गरी रु २५ लाख लागतमा सडक ढलान गरिएको हो । गाउँपालिकाको कोषले बजार क्षेत्रमा मात्र सडक स्तरोन्नतिको काम गर्ने लक्ष्य भए पनि गाउँमा जान समस्या भएको गुनासो आएपछि उक्त क्षेत्रमा पनि साझेदारी गरेर सडक ढलान गरिएको मोदी गाउँपालिका–६ का वडाध्यक्ष दीपेन्द्रजङ्ग लामिछानेले जानकारी दिए । अन्य वडाबाट साझेदारी रकम नआएपछि उक्त वडामा मात्र ढलान गरिएको लामिछाने बताउँछन् ।
उक्त रकमवाट झण्डै २ सय मिटर सडक ढलान गरिएको छ । सडक ढलान गरेपछि बाह्रैमास सहज रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन् । विगत वर्षहरूमा वर्षायामका ४ महिना सडक सुविधाबाट वञ्चित हुने थामर्जुङ गाउँमा अहिले बाह्रैमास सवारी चलाउन सकिने वडाध्यक्ष लामिछानेले जानकारी दिए । स्थानीयको समेत साझेदारीमा निर्माण गरिएकाले कामको गुणस्तर उत्कृष्ट रहेको उनको भनाइ छ ।
झण्डै ३ किलोमिटर लामो तिलाहार–थामर्जुङ सडकको अन्य भागको स्तरोन्नतिका लागि पनि पालिका र प्रदेश सरकारसँग बजेट माग गरिएको वडाध्यक्ष लामिछानेले बताए । देउसीभैलो खेलेर सडकमा लगानी गरेको यो जिल्लामै नमूना कार्य भएको उनी बताउँछन् । रासस






Comments are closed.