समितिको प्रतिवेदन प्रस्तुत

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा दुईवटा विषयगत समितिको प्रतिवेदन प्रस्तुत भएको छ । प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत)को नियम १४३ बमोजिम सार्वजनिक लेखा समितिको ज्येष्ठ सदस्य एवं समितिका सभापति किशोरचन्द्र दुलाल र सामाजिक विकास समितिका ज्येष्ठ सदस्य एवं समितिका सभापति गयानन्द मण्डलले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका छन् ।

विशेष समय

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका तर्फबाट तिलचन पाठकले विशेष समयमा पूर्वमुख्यमन्त्री केदार कार्कीले हिजोदेखि सुरु गरेको अनशनले प्रदेशसभालाई गम्भीर बनाएको बताएका छन् ।

अनशनले संविधानको मूल्य र मान्यतालाई धज्जी उडाएको प्रसङ्ग उल्लेख गर्दै सांसद पाठकले भने, “पूर्वमुख्यमन्त्री कार्कीले जुन माग राखी अनशन बस्नुभएको छ, ती माग आर्थिक वर्ष २०८१÷८२ को वार्षिक बजेटमा परेको रातो किताबबाट प्रस्ट हुन्छ ।”

१० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गर्न सरकारले बजेटको व्यवस्थापन गरेको, स्वास्थ्य महिला स्वयंसेविकाको सम्मान र स्वाभिमानलाई उच्च पार्न बजेट विनियोजन गरेको छ भन्दै उनले झुटा कुरालाई बोकेर अनशनमा बस्नु जनता र संसद्लाई गुमराहमा पार्न खोज्नु बताए ।

सांसद पाठकले यसअघि सरकार अल्पमतमा पर्दा राजीनामा नदिने र विश्वासको मत पनि नलिने पूर्वमुख्यमन्त्री कार्कीको मूल्याङ्कन आमजनताले गरेको उल्लेख गर्दै मुख्यमन्त्री हुँदै गर्दा उनले नै ल्याएको वार्षिक बजेटमा धेरै योजना कटौती भएको र संसद् एवं जनताको भावना विपरीत काम गरेको जगजाहेर रहेको बताएका छन् ।

उनले मुख्यमन्त्रीजस्तो गरिमामय ओहोदामा रहिसकेको माननीय कार्कीले पदीय जिम्मेवारी र प्रतिष्ठाको ख्याल नगरी अराजक हरकत प्रदर्शन गरेको भनी खेद व्यक्त गरेका छन् ।

शून्य समय

कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा, सजना दर्जी, खगेनसिं हाङ्गाम, गीतादेवी रेग्मी, मीना श्रेष्ठ, रामदेव यादव, खड्गबहादुर बस्नेत, तारादेवी ढकाल, नारायणबहादुर मगर र निर्मला लिम्बूले मुलुकको आर्थिक, राजनीतिक, सामजिकलगायत समसामयिक विषयमा बोलेका थिए ।

सभामा सभामुख अम्बरबहादुर विष्टले विषयगत समितिमा सदस्य समावेश तथा हेरफेरसम्बन्धी नामावली प्रस्तुत गरेका थिए भने विषयगत समितिको सभापतिको निर्वाचन यही भदौ २८ गते हुने जानकारी दिए । प्रदेशसभाको अर्को बैठक असोज २ गते बुधबार दिउँसो १ बजे बस्नेछ । रासस

You might also like

Comments are closed.