वीरगञ्ज नाका हुँदै सवारीसाधनको आयात खस्कियो

वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार नाका हुदैँ आयात हुने चारपाङ्गे सवारीसाधनको आयात ह्वात्तै घटेको छ । गत आर्थिक वर्षको ३ महिनाको तुलनामा चालु आवको सोही अवधिमा चारपाङ्गे सवारीसाधनको आयात ६० प्रतिशत भन्दा बढीले कमी आएको छ ।

वीरगञ्ज नाका हुँदै पेट्रोलियम पदार्थ र विद्युतीय सवारीसाधन दूवैको आयातमा पनि कमी देखिएको छ । चालु आवको असोज मसान्तसम्मको अवधिमा ४० करोड ४७ लाख ६३ हजार मूल्यपर्ने २१५ वटा जीप, कार र भ्यान आयात भएका छन् ।

गत आवको ३ महिनाको तुलनामा चालु आवको सोही अवधिमा जीप, कार र भ्यानको परिमाणको आधारमा ६६ दशमलव ०९ प्रतिशतले घटेको देखिन्छ । सोही अवधि राजस्व सङ्कलनको आधारमा भने ४९ दशमलव ९३ प्रतिशतले गिरावट आएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चारपाङ्ग्रे सवारीसाधन वीरगञ्ज नाकाभन्दा पनि अन्य नाकाबाट भित्र्याउने क्रम बढेको बताए ।

‘‘व्यवसायीले जुनसुकै नाकाबाट सवारीसाधन भित्राए पनि समग्रमा राजस्व मुलुकभित्रै भित्रिने हो,’’ उनले भने, ‘‘चालु आवको साउन र भदौ महिनाको तुलनामा वीरगञ्ज भन्सार कार्यालयले सङ्कलन गर्ने समग्र राजस्वमासमेत वृद्धि हुदैँ आइरहेको छ ।’’

गत आवको ३ महिनाको अवधिमा भने ९० करोड ५७ लाख १६ हजार मूल्यपर्ने छ सय ३४ वटा जीप, कार र भ्यानको आयात भएको थियो । पेटोलियम पदार्थबाट चल्ने चारपाङग्रे सवारीसाधनको मात्रै आयात घटेको होइन् । गत आवको ३ महिनाको तुलनामा चालु आवको सोही अवधिमा इलेक्ट्रिक, कार, जीप र भ्यानको आयातमा पनि ठूलो गिरावट आएको छ ।

चालु आवको ३ महिनाको अवधिमा वीरगञ्ज नाकाहुँदै ९ करोड ७७ लाख ९० हजार मूल्यपर्ने ६७ वटा मात्रै इलेक्ट्रिक कार, जीप र भ्यान आयात भएको छ । प्रमुख भन्सार प्रशासक लामिछानेले इलेक्ट्रिक सवारीसाधन वीरगञ्ज नाकाबाट भन्दा पनि उत्तरी नाकाबाट धेरै भित्रिने बताउँछन् ।

उनी भन्छन्, ‘‘इलेक्ट्रिक सवारीसाधन व्यापारीले उत्तरी नाकाबाट भित्र्याउने गर्नुहुन्छ भने ठूला सवारीसाधन भने वीरगञ्ज नाका हुदैँ भित्रिन्छन् ।’’ गत आवको ३ महिनाको तुलनामा चालु आवको सोही अवधिमा इलेक्ट्रिक सवारीसाधनको आयात परिमाणको हिसाबले ६४ दशमलव ७४ प्रतिशतले गिरावट आएको छ ।

सोही अवधिमा इलेक्ट्रिक सवारीसाधनको आयातबाट हुने राजस्व सङ्कलनमा पनि ५९ दशमलव ६७ प्रतिशतले कमी आएको छ । जबकी गत आवको ३ महिनाको अवधिमा ३५ करोड ९ लाख ९४ हजार मूल्यपर्ने १९० वटा इलेक्ट्रिक सवारीसाधन आयात भएको थियो ।

चालु आवको ३ महिनाको अवधिमा रु ७ करोड ३२ लाख १७ हजार मूल्य पर्ने ३२ वटा ट्रक, मिनि ट्रकको आयातमा भएको छ । जबकी गत आवको ३ महिनाको अवधिको तुलनामा चालु आवको सोही अवधिमा भने ६३ दशमलव ६४ प्रतिशतले आयात घटेको छ ।

गत आवको ३ महिनाको अवधिमा ट्रक मिनि ट्रक २० करोड १३ लाख १२ हजार मूल्य पर्ने ८८ वटा भित्रिएका थिए । त्यस्तै चालु आवको ३ महिनाको अवधिमा पिकअप तथा डेलिभरी भ्यानको आयात पनि खस्किएको छ । चालु आवको ३ महिनाको अवधिमा नौ करोड ७५ लाख ३ हजार मूल्य पर्ने ६८ वटा पिकअप तथा डेलिभरी भ्यान आयात भएको छ ।

जबकी गत आवको ३ महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने पिकअप तथा डेलिभरी भ्यानको आयात ६३ दशमलव ६४ प्रतिशतले घटेको छ । जबकी गत आवको सोही अवधिमा भने १४ करोड १५ लाख मूल्यपर्ने १३२ पिकअप तथा डेलिभरी भ्यानको आयात भएको थियो ।

You might also like

Comments are closed.