नवलपुरमा आलु प्रवर्द्धन कार्यक्रम विस्तार गरिँदै

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आलु प्रवर्द्धन कार्यक्रममा किसानको आकर्षण बढेको छ । गत वर्ष आलु प्रवर्द्धन कार्यक्रम राम्रो भएपछि यस वर्ष आलु प्रवर्द्धन कार्यक्रममा किसानको आकर्षण बढेको हो । आलु प्रवर्द्धन कार्यक्रमले जिल्लामा आलुखेती गर्ने  क्षेत्रफल पनि विस्तार गर्न लागिएको छ ।

आलुको माग धेरै हुने र स्थानीय उत्पादन कम हुने हुँदा धेरै मात्रामा भारतबाट आयात गर्नुपर्ने अवस्था रहेकाले यसको उत्पादन वृद्धि गरी आयातमा कमी ल्याउन गण्डकी प्रदेश सरकारले आलुखेती प्रवर्द्धन कार्यक्रम गत वर्षबाट सञ्चालनमा ल्याएको थियो । पहिलो वर्षमा नै नवलपुरमा यो कार्यक्रम सफल भएको तथ्याङ्कले पुष्टि गरेको कृषि ज्ञान केन्द्र प्रमुख कुलप्रसाद तिवारीले बताएका छन् ।

जिल्लाका विभिन्न पालिकामा गरेर गत वर्ष समूह तथा हकारीमार्फत ९० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा १ हजार ९९२ मेट्रिक टन आलु उत्पादन भएको थियो । उक्त आलु बिक्रीबाट किसानले रु ७ करोड ८९ लाख २४ हजार आम्दानी लिन सफल भएको केन्द्रका प्रमुख तिवारीले जानकारी दिएका छन् ।

यस वर्ष २१ हेक्टर क्षेत्रफलमा आलुखेती थप विस्तार भएर १११ हेक्टरमा आलुखेती गर्न लागिएको छ । गत वर्ष ३१ वटा किसान समूहले यस कार्यक्रममा सहभागिता जनाएकामा अहिले सातवटा समूह थप भएर ३८ वटा समूह आबद्ध भएको प्रमुख तिवारीले जानकारी दिए ।

गत वर्ष कृषि ज्ञान केन्द्र नवलपुरले आलुखेती प्रवर्द्धनका लागि रु ३ करोड ९२ लाख विनियोजन गरेको थियो । तर अहिले भने बजेटमा कटौती भएको छ । अहिले रु १ करोड ८४ लाख ३० हजारमात्र विनियोजन भएको छ । बजेटको कमीका कारण विगत ४ वर्षदेखि अनुदान पाउँदै आएका किसानलाई कार्यक्रममा समेट्न नसकेको तिवारीले बताएका छन् । यस वर्ष बजेट कम भएकाले अनुदानमा केही कटौती भएको छ ।

“जिल्लामा आलु प्रवर्द्धन कार्यक्रमप्रति किसानको आकर्षण बढेको छ, तर बजेट अभावका कारण कार्यक्रममा जोडिन चाहेका किसानलाई समेट्न सकेका छैनौँ”, कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख तिवारीले भने ।

आलुखेतीको अनुदानका लागि समूह तथा सहकारीमा कम्तीमा १० घरपरिवार संलग्न भई न्यूनतम ३० रोपनी क्षेत्रफलमा आलुखेती गर्नुपर्ने हुन्छ । यसरी खेती गर्न चाहनेलाई गत वर्ष ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराइएको थियो । तर अहिले अनुदानमा केही कटौती गरेर क्षेत्र विस्तारलाई प्राथमिकता दिइएको छ ।

गण्डकी प्रदेश सरकारले आलु प्रवर्द्धन कार्यक्रमबाट आयआर्जनमा वृद्धि गर्ने लक्ष्य लिएअनुसार नै आलुको बजारीकरणको व्यवस्था सुरुमै सुनिश्चित गरेको हुँदा पनि किसान यसतर्फ थप आकर्षित बनेको केन्द्रका प्रमुख तिवारी बताउँछन् । जिल्लामा उत्पादन हुने आलुको चिप्स उत्पादन गर्ने कम्पनीले खरिद गर्नेगरी व्यवस्था गरिएको कार्यालय प्रमुख तिवारीले  बताए ।

lcci
You might also like

Comments are closed.