छठका लागि जनकपुरमा ५ करोडको केरा आयात

महेन्द्रनगर (धनुषा) । छठपर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा रु ५ करोडको केरा भारतबाट आयात गरिएको छ । छठपर्वका बर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ ।

छठमा सिङ्गै केराको घरी भगवान्लाई अर्घका रूपमा चढाउने परम्परा छ । छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए । “केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले पुग्दैन”, उनले भने । स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनुपरेको अध्यक्ष यादव बताउँछन् ।

“गत वर्ष रु ४ करोडको केरा जनकपुर भित्र्याइएको थियो”, उनले भने, “यस वर्ष झण्डै १५० ट्रक केरा भित्र्याइएको छ । जनकपुरधाममा गोपाल र वंशीभोग जातका केरा सप्तरी जिल्लाको भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ ।

मालभोग, मिरिचमान, चिनी चम्पा जातका केरा भारतको आसाम, गुवाहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट आयात गर्ने गरिएको समितिका सचिव भुवनेश्वर पूर्वेले बताए । छठपर्वसँगै गत वर्षको तुलनामा यस वर्ष ३५ प्रतिशतले केराको भाउ महँगिएको सचिव पूर्वेले जानकारी दिए ।

“छठ मनाउनेको सङ्ख्या प्रत्येक वर्ष वृद्धि भएकाले केराको माग पनि बढेको हो । बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष ४०/४५ ट्रक बढी केरा मगाइएको अध्यक्ष यादवले बताए । समितिका अध्यक्ष यादवका अनुसार १० चक्के ट्रकमा १२ सय घरी केरा आउँछ । प्रतिट्रक जनकपुरसम्म ल्याउँदाको खर्च रु ७ लाख पर्ने उनले जनाए । बजारमा प्रत्येक केराको घरीलाई रु एक हजार ५ सयदेखि ३५ सय सम्ममा बिक्री गरिन्छ ।

नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छन् । नेपालमा मालभोग, झापाली मालभोग, बिलियम हाइब्रिड रोवस्टा, बिलियम हाइब्रिडलगायत जातका केराखेती हुँदै आएको छ । सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीहरूको भनाइ छ । रासस

lcci
You might also like

Comments are closed.