वडाको कामसँगै किबीखेतीमा व्यस्त वडाध्यक्ष थापा

गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–९ तित्याङका वडाध्यक्ष राजु थापा व्यावसायिक रूपमा फलफूलखेती थालेका छन् । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको तित्याङमा सागसब्जी र सुन्तलाखेती गरेर सफल किसानको परिचय बनाएका उनले किबी खेती सुरु गरेका हुन् ।

३ वर्षअघि किबीखेती थालेका उनलाई उत्पादन बेच्न भ्याइनभ्याइ छ । गाउँका अन्य किसानका लागि प्रेरणा बनेका उनले यो वर्ष १ सय बोटबाट ६ सय क्विन्टल किबी उत्पादन भएको बताए । उनले किबीसँगै कागती पनि फलाएका छन् । जनप्रतिनिधि भइसकेपछि कोदो र धानखेतीमा लाग्न आफूले समय व्यवस्थापन गर्न नसकेको बताएका छन् । वडाध्यक्ष थापाका बारीमा १५० कागती र ५० सुन्तलाका बोट छन् ।

दैलेखबाट रु ३३० मा एउटा बिरुवा खरिद गरेर ल्याएको जानकारी दिँदै वडाध्यक्ष थापाले बृहत् रूपमा किबीखेती गर्ने चाहना सुनाए । किबीका लागि अस्थायी थाक्रो व्यवस्थापन गरेका थापाले किबी बजार पठाएपछि फलामबाट बनाइएको थाक्रो राख्ने योजना बनाएको बताए । हाल स्थानीय बजारमा प्रतिकेजी रु २५० देखि रु ३ सयमा किबी बिक्री हुँदै आएको छ । किबी बेचेर आफूले हालसम्म रु २ लाख आर्जन गरेको बताए ।

गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन गर्ने सिलसिलामा तित्याङको खानीगाउँमा २६ सय ओखर १४० रोपनी जग्गामा लगाइएको थियोभने यो वर्ष नगरपालिकाले किम्बोट क्षेत्रमा ओखर लगाउन रु १२ लाख बजेट विनियोजन गरेको वडाध्यक्ष थापाले जानकारी दिए । अलैँची पकेट क्षेत्र विस्तारका लागि रु १५ लाख बजेट विनियोजन भएको छ । साथै वडा नम्बर ९ तित्याङको साबिक १, २, ३, ४ र ५ वडामा अलैँचीखेती प्रारम्भ भएको छ । रासस

lcci
You might also like

Comments are closed.