रामपुरमा निःशुल्क लोकसेवा आयोग तयारी कक्षा सुरु

रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिका लोकसेवा आयोग तयारी कक्षा सुरु भएको छ । रामपुर नगरपालिकाको आयोजनामा मंगलबार देखि निःशुल्क दुई महिने लोक सेवा आयोग तयारी कक्षा सुरु भएको हो ।

तयारी कक्षाको रामपुर नगरपालिकाको सभाहलमा कार्यक्रम गरी शुभारम्भ गरिएको छ । कक्षाको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले उच्च मनोबलका साथ अध्ययन गरे सफलता प्राप्त गरिने उल्लेख गरे । साथै लगनशीलता र मेहेनतका साथ अध्ययन गर्न उनको आग्रह छ । नगरपालिकाका प्रशासन अधिकृत एवं लोक सेवा आयोग तयारी कक्षाका संयोजक युवराज पन्थीले कार्यक्रमको बारेमा प्रष्ट पार्दै लोक सेवा आयोगको तयारीका लागि ज्ञान सीप र तरिका सिकाइने बताए ।

शहीद बहुमुखी क्याम्पस रामपुरका स्ववियु सभापति ल्याकत अलीले लोकसेवा आयोगमा प्रतिस्पर्धा गर्नका लागि आवश्यक सीप प्रदान गर्न नगरपालिकाले लगानी गरेको र यो अवसरको भरपुर सदुपयोग गर्नुपर्ने बताए । अन्य जिल्लाहरुको तुलनामा पाल्पाका राष्ट्रसेवक कर्मचारी कम रहेको भन्दै त्यसलाई वृद्धि गर्नका लागि लोकसेवा आयोगमा प्रवेश गर्नु पर्नेमा उनको जोड छ ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गरेका हुन् । लोकसेवा आयोग तयारी कक्षामा ७३ जनाको सहभागीता रहेको छ । रामपुर नगरपालिकाले केही वर्ष देखि निरन्तर रुपमा कक्षा सञ्चालन गर्दै आएको छ ।

You might also like

Comments are closed.