गलकोट (बागलुङ) । बागलुङ नगरपालिका–७ कालिमाटीको ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्ममा ५ हजार कुखुरा पालेर यहाँका एक उद्यमीले मासिक रु १ लाख ५० हजार बचत गर्र्दै आएका छन् ।
स्थानीय ओमराज शर्माले सञ्चालन गरेका कुखुरा फार्मबाट दैनिक ५ हजार अण्डाको बजारीकरण भइरहेको छ । १२ बर्ष कतार बसेर फर्कनुभएका शर्माले कुखुरापालनमा आम्दानी र जोखिम बराबर रहेको बताए ।
“३ हजार कुखुरा पाल्दै आएको थिएँ, हाल थप २ हजारले अण्डा दिन सुरु गरेका छन्, दैनिक ५ हजार अण्डा बजार बेच्ने गरेको छु”, उद्यमी शर्माले भने । १ करोड ५० लाख लागतमा फार्म स्थापना गरी सञ्चालनमा ल्याएको बताउँदै उनले अण्डाको बजारीकरणका लागि बागलुङ बजारमा डिपो, एउटा पिकअप जिप र चार जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् ।
फार्मको कमाइबाट आफू सन्तुष्ट रहेको बताउँदै अहिले कर्मचारीलाई तलब खर्च कटाए मासिक रु १ लाख ५० हजार बचत हुने गरेको उद्यमी शर्मा बताउँछन् । अण्डा बिक्रीका लागि बजार अभाव नभएको बताउँदै बाहिरबाट आउने अण्डाका कारण मूल्य भने अस्थिर हुने गरेको उनले बताएका छन् ।
किसानलाई स्थानीय सरकारले प्राविधिक सहयोग गर्नुपर्नेमा उनले जोड दिए । कुखुरापालनभन्दा गाईबाख्रा पाल्न सहज हुने उनको अनुभव छ । त्यसैले अब उनी व्यावसायिक रूपमा गाई र बाख्रापालनको योजना कार्यान्वयनमा छन् । रासस
Comments are closed.