काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । सुनचाँदी व्यवसायको प्रवद्र्धन र व्यवसायीहरुलाई आपतकालीन जोखिमबाट सुरक्षा प्रदान गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।
समझदारीपत्रले सुनचाँदी व्यवसायीहरुको आर्थिक सुरक्षामा सुदृढता ल्याउने र सम्भावित जोखिम व्यवस्थापनका लागि ठोस कदम चाल्ने दिशामा दुवै संस्थाबीच सहकार्यलाई नयाँ उचाइमा पु¥याउने विश्वास गरिएको छ ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघतर्फबाट महासचिव निरबहादुर विश्वकर्मा र महासंघका कार्यालय प्रमुख राम महर्जन तथा प्रभु इन्स्योरेन्सको तर्फबाट बजार विभाग प्रमुख समिर तामाङ र वित्त विभाग प्रमुख अरविन्दकुमार कर्णले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
प्रभु इन्स्योरेन्सले सुनचाँदी व्यवसायीहरूका लागि विशेष बीमा योजना र सेवाहरू प्रदान गर्ने सम्झौतामा उल्लेख गरिएको छ । आगलागी, चोरी, प्राकृतिक प्रकोप लगायतका अनपेक्षित घटनाबाट हुने आर्थिक क्षतिलाई न्यून गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
Comments are closed.