एचपिभी खोप सम्बन्धी अभिमुखिकरण रामपुरमा सम्पन्न

रामपुर (पाल्पा) । पाल्पाको रामपुर नगरपालिका स्वास्थ्य शाखाले ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप सम्बन्धी अभिमुखिकरण गरेको छ । पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणको लागि आगामी माघ २२ देखि फागुन ६ गते सम्म सञ्चालन हुन गइरहेको खोप अभियान अन्तर्गत शाखाले नगरपालिका स्तरीय खोप समन्वय समितिलाई आइतबार अभिमुखिकरण प्रदान गरेको हो ।

पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रयोग गरिने एचपिभी खोप कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लगाइदैछ । रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले माघ २२ देखि २८ गतेसम्म नगर भित्रका ६० विद्यालयमध्ये २९ विद्यालयका १ हजार ९४४ किशोरीलाई खोप दिइने जानकारी दिए ।

विद्यालयमा अध्ययनरत छात्रालाई माघ २२ देखि २८ सम्म विद्यालयमै पुगेर खोप लगाइने र अन्य छुटेका विद्यार्थी तथा विद्यालय भन्दा बाहिर रहेका उमेर समुह भित्रका किशोरीलाई स्वास्थ्य संस्थामार्फत खोप प्रदान गरिने जानकारी दिए । खोपको लागि पूर्वतयारी अन्तर्गत नगर स्तरीय खोप समितिलाई अभिमुखिकरण प्रदान गरिसकेको र अब वडा स्तरीय खोप समिति, स्वास्थ्य स्वंयसेविका, शिक्षिकालाई अभिमुखिकरण प्रदान गर्ने तयारी छ ।

रामपुर नगरपालिकाका नर्सिङ अधिकृत पुनम धितालले एचपिभी खोप अभियानको कार्यनीतिको बारेमा जानकारी दिदै सरकारले यसै वर्षदेखि एचपिभी खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरेको बताइन् । पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा दैनिक ४ जना महिलाको ज्यान गएको तथ्याङ्क रहकाले खोप अभियानमा सहयोग गर्न उनको आग्रह छ । एचपिभी खोप अभियानका लागि शतप्रतिशत लक्ष्य प्राप्ति हुने गरी तयारी गरिएको र खोपले कुनै असर नगर्ने उनले जानकारी दिइन् ।

स्वास्थ्य शाखाका अनुसार रामपुर नगरपालिका वडा नम्बर १ मा ४४ जना, २ मा ८२ जना, ३ मा १५३ जना, ४ मा १११ जना, ५ मा ७२६ जना, ६ मा २१८ जना, ७ मा १४३ जना, ८ मा १४५ जना, ९ मा १०९ जना र १० नम्बर वडामा २१३ जना छात्रालाई खोप दिइनेछ । आगामी आर्थिक बर्षदेखि नेपाल सरकारले यो खोपलाई अन्य खोप जस्तै नियमित खोपमा लैजाने निर्णय गरिसकेको छ ।

कार्यक्रम रामपुर नगरपालिका प्रमुख एवं नगर स्तरीय खोप समितिका संयोजक रमण बहादुर थापाको अध्यक्षतामा भएको हो । कार्यक्रममा नगरपालिकाका कार्यपालिका सदस्य, विद्यालयका प्रधानाध्यापक र सञ्चारकर्मी सहभागी थिए ।

You might also like

Comments are closed.