रामपुर (पाल्पा) । रामपुर नगरपालिका भित्रका आधारभूत तहमा अध्यापनरत शिक्षकलाई शैक्षिक सामग्री निर्माण सम्बन्धी तालिम प्रदान गरिएको छ । रामपुर नगरपालिकाको आयोजनामा नगरभित्रका ६० विद्यालयका प्राथमिक तहमा अध्यापन गराउने शिक्षकलाई शैक्षिक सामग्री निर्माण सम्बन्धी सिप सिकाइएको हो ।
कक्षा शिक्षणका क्रममा प्रयोग गरिने विभिन्न शैक्षिक सामग्री निर्माण गर्न प्राथमिक तहका ३० र आधारभूत तह र माध्यमिक तहका ३० जना शिक्षकलाई २/२ दिन गरी ४ दिनसम्म ज्ञान सीप प्रदान गरिएको छ । कार्यशालाको सोमबार एक कार्यक्रमका बीच समापन गरिएको छ ।
नगर उपप्रमुख बालकुमारी थापाले नगरका हरेक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गरी शैक्षिक अवस्थाको स्तरोन्नतीका लागि नगर सरकार प्रतिबद्ध भएर लागेको बताइन् । शैक्षिक सुधार र विकासका लागि बुक फ्रि फ्राईडे लगाएत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै हरेक विद्यालयमा हुने कक्षा शिक्षणलाई प्रभावकारी बनाउनका लागि तालिमको आयोजना गरिएको उनले बताइन् ।
स्थानीय स्तरमा प्राप्त स्रोत साधनबाट थोरै समय र विना लगानीमा शैक्षिक सामग्री निर्माण गरि राम्रो र रमाईलो वातावरणमा कक्षा शिक्षणका लागि तालिमको आयोजना गरिएको नगर शिक्षा अधिकृत विकल काफ्लेले बताए । व्रिटिस काउन्सियलका प्रशिक्षक मेनुका थापाले प्रभावकारी कक्षा शिक्षणमा शैक्षिक सामग्रीको प्रयोग महत्वपूर्ण रहेको भन्दै कार्यशालामा सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह गरिन् ।
सहभागिको तर्फबाट मदरसा नुरुल हुदा आधारभूत विद्यालयका शिक्षक नजमुन निसाले शैक्षिक सामग्रीको प्रयोगबाट विद्यार्थीलाई सिकाउन सजिलो हुने भन्दै तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यशालाको सहजिकरण व्रिटिस काउन्सियलका प्रशिक्षक मेनुका थापा र सुमिना कुवँरले गरेका हुन् ।
रामपुर आयुर्वेद अस्पतालको योग हलमा भएको कार्यशालामा कक्षाकोठामा प्रयोग हुने सामग्री बनाउने तरिका, यसको व्यवस्थापन, प्रयोग विधि, स्रोत साधनको सङ्कलन, शैक्षिक सामग्रीको प्रस्तुतिकरण कसरी गर्ने लगायतका विषयमा ज्ञान सिप सिकाइएको छ । रामपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक सिमादेवि थापाको अध्यक्षतामा भएको कार्यशालाको सञ्चालन शिक्षा शाखाका प्राविधिक सहायक अनिता कुँवरको गरेकी हुन् ।
Comments are closed.