प्रतिभा माविमा साहित्य, संगीत र कला प्रदर्शन कार्यक्रम सम्पन्न

पोखरा । पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा साहित्य, कला तथा संगीत मेला आयोजना गरिएको छ । विद्यार्थीमा साहित्यको चेतना र पठनशैली विकास गराउने उद्देश्य सहित कार्यक्रम गरिएको हो ।

कार्यक्रम उद्घाटन साहित्यकार तीर्थ श्रेष्ठले गरेका हुन् । साहित्यकार श्रेष्ठसँग छलफल गरिएको छ । कार्यक्रमको अवसरमा चित्रकार सुनिल मर्सानीलाई सम्मान गरिएको छ । विद्यालयमा आयोजना गरिएको विज्ञान प्रदर्शनीमा उत्कृष्ट भएको प्रविधिलाई पनि प्रदर्शनी, पुस्तक, चित्रकला प्रदर्शनी र सांगीतिक कार्यक्रम, विद्यार्थी आफैले कोरेका चित्र प्रदर्शनीमा राखिएको थियो ।

विद्यालयमा यसअघि अध्ययनरत विद्यार्थीको भेटघाट पनि भएको छ । विद्यालयका प्राचार्य किरण सापकोटाले प्रतिभा माविबाट विद्यालय तहको अध्ययन सकेका पूर्व विद्यार्थीको भेटघाटसँगै साहित्य, कला र संगीतलाई एकै ठाउँमा जमघट गराएको बताए ।

‘विद्यार्थीको सिर्जना, रचना र सिर्जनामार्फत पस्केको सपना देखाउने अवसर यो कार्यक्रमले जुटाएको छ,’ प्राचार्य सापकोटाले भने, ‘यसले विद्यार्थीमा रहेको अन्तरनिहीन क्षमतालाई बाहिर ल्याउनेछ भने अरु विद्यार्थीमा पनि कला र संस्कृतिको ज्ञान पस्कनेछ ।’

विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलले पाठ्यपुस्तक बाहेक बाह्य ज्ञान दिलाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताए । आगामी दिनमा पनि विद्यालयले यस्तै कार्यक्रमलाई निरन्तरता दिइरहने उनी बताउँछन् । सो अवसर पारेर विद्यालयका लागि तयार पारिएको गीत पनि सार्वजनिक गरिएको छ ।

 

You might also like

Comments are closed.