रम्भामा रानीबास सामुदायिक होमस्टे उद्घाटन

एवत सारु/पाल्पा । रम्भा गाउँपालिकाको रानीबास सामुदायिक होमस्टे औपचारिक रुपमा शुरु भएको छ । विगत २ महिना अघिदेखि सञ्चालन भएतापनि एक औपचारिक कार्यक्रम गरी होमस्टे शुभारम्भ गरिएको छ । संघीय सांसद नारायणप्रसाद आचार्य तथा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री खेमबहादुर सारुले संयुक्त रुपमा रानीबास होमस्टे तथा जनजाति संग्रहालयको उद्घाटन गरेका हुन् ।

प्रमुख अतिथि संघीय सांसद नारायणप्रसाद आचार्यले आन्तरिक पर्यटन प्रवद्र्धन गरी समुदायको आयबृद्धिमा रानीबास सामुदायिक होमस्टे फलदायी हुने बताए । रम्भा गाउँपालिकाको रानीबास गाउँ प्राकृतिक सौन्दर्यता, कला संस्कृतिको विविधताले भरिएको र स्थानीयको जागरुकताको कारण रानीबास सामुदायिक होमस्टे सफल हुने उनी बताउँछन् ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री खेमबहादुर सारुले स्थानीय उत्पादन गर्नुपर्नेमा जोड दिदैं स्थानीय स्तरमा उत्पादन हुने खाद्यान्न र संस्कृतिलाई आयआर्जनको महत्वपूर्ण साधनको रुपमा लिनुपर्ने बताए । अतिथि सत्कार र कला संस्कृतिको माध्यमबाट पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउँदै सारुले होमस्टे सफल हुने शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा राना, माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिना, होमस्टे महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष धनीश्वर बस्याल, जिल्ला समन्वय समितिको सदस्य भोवीसरा सारु लगायतले रानीबास सामुदायिक होमस्टेको सफलताको शुभकामना दिएका छन् ।

गाउँपालिकाका उपाध्यक्ष राधाकुमारी श्रेष्ठ, वडा नं १ का वडाध्यक्ष इश्वरी काफ्ले, वडा नं. २ का वडाध्यक्ष चेतबहादुर सुनारी, गाउँपालिकाका प्राविधिक शाखाका प्रमुख इन्जिनियर दिपककुमार सारु, समाजसेवी हुमबहादुर सुनारी, हेमराज अर्याल, धनबहादुर पौडेल, विष्णु पछाई लगायतले आफ्ना भनाइ राखेका छन् । रम्भा गाउँपालिकाको वडा नं. २ फोक्सिङ्गकोटको रानीबास गाउँमा ९२ घर मगर समुदायका मानिस बसोबास गर्छन् । प्राकृतिक सौन्दर्यता र कला संस्कृतिले भरिपूर्ण भएकाले गाउँपालिकाले रानीबास गाउँमा होमस्टे सञ्चालन गर्न विशेष पहले गरेको हो ।

समुद्र सतह देखी करिब १२ सय मिटर उचाईमा रहेको रानीबास गाउँको बीचमा रहेको चुर्की थानबाट उत्तरतर्फ रहेको माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरी हिमाल र हिमश्रृंखलाका साथै स्याङ्गजाको गल्याङ्ग बजार, रिमीघा लेक र टिमुरडाँडा, आर्यभञ्ज्याङ्ग, तानसेनको श्रीनगरको जङ्गल, सिद्धार्थ राजमार्ग, कालीगण्डकी नदी, राम्दीपुल लगायतका चर्चित स्थानहरु एकै नजरमा देख्न सकिने भएकाले आन्तरिक पर्यटकहरु आउने गर्दछन् ।

यहाँ झामे्र नाच, मारुनी नाचका साथै सालैजो लगायतका कला संस्कृति छन् । विगत ३ वर्ष देखि निर्माणाधिन आदिवासी जनजाति संग्रहालयको निर्माण कार्य सम्पन्न भएपछि मगर समुदायको भेषभुषा, ऐतिहासिक माटो र काठले बनेका भाडाहरु, हतियार, दैनिक जीवनमा प्रयोग हुने प्राचीन सामानहरु सङ्ग्रहालयमा राखिएका छन् ।

कार्यक्रममा स्थानीय समुदायले झामे्र नाच, मारुनी नाच, सालैजो लगायतका मौलिक गीत तथा नृत्य प्रस्तुत गरेका थिए । रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गीता नेपालले गरेकी हुन् ।

You might also like

Comments are closed.