विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण

गोरखा । गोरखा नगरपालिका गोरखाले विपन्न महिलालाई उद्यमशील बनाउन अनुदानमा सिलाइ मेसिनलगायतका उपकरण प्रदान गरेको छ । नगरपालिकाले ‘उपप्रमुख सवल नेतृत्व विकास कार्यक्रम’ अन्तर्गत विपन्न महिलालाई व्यवसायसँग जोडेर आयआर्जन वृद्धिका लागि उद्यमशील बनाउँदै लैजाने उद्देश्यसहित सिलाइ मेसिन वितरण गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए ।

‘‘सीपमूलक तालिम लिएर पनि आर्थिक अभावमा व्यवसाय सुरु गर्न नसकेका महिलालाई व्यवसायसँग जोड्नसके आर्थिक आयआर्जन गरेर आत्मानिर्भर बन्न सक्छन्, उनले भने, ‘‘त्यसका लागि सीप अनुसारका प्रविधि उपलब्ध गराएपछि पेसामा जोड्न सहज हुने भएकाले पनि सिलाइ मेसिन वितरण गरिएको हो ।’’ सिलाइ मेसिन वितरणका लागि अत्यन्तै न्यून आय भएका र थोरै सहयोगबाट पनि जीविकोपार्जनमा जोडिन चाहाने विपन्न महिला वडावडाबाट छनोट गरी नौ जनालाई मेसिन अनुदान सहयोग गरिएको कार्यक्रमकी फोकलपर्सन शोभा दुवाडीले जानकारी दिइन् ।

कार्यक्रममार्फत व्यावसायिक रुपमा सिलाइकटाइ तालिम प्रदान गर्दै आएका केही बहुउद्देश्सीय संस्थालाई पनि उन्नत प्रकारको ‘जुकी’ सिलाइ मेसिन अनुदानमा उपलब्ध गराइएको उनको भनाइ छ । चिनारी बहुउद्देश्सीय संस्था, गोरखा उद्योग वाणिज्य सङ्घ र महालक्ष्मी सिलाइकटाइ केन्द्रलाई जुकी मेसिन प्रदान गरिएको छ ।

त्यस्तै नौमती पञ्चैबाजा बजाउने तालिम लिएका गोरखा नगरपालिका–८, स्थित रानी स्वाँरा आहालटोल विकास संस्था, वडा नं ६ स्थित प्रगतिशिल महिला उद्यमी सङ्घ र वडा नं २ स्थित थापा गाउँ महिला समूहलाई आवद्ध महिलालाई समूहगत रुपमा आयआर्जनसँग जोड्ने यसअघि नौमती पञ्चै बाजा वितरण गरिएको बताइएको छ । रासस

You might also like

Comments are closed.