रामपुर नगरपालिकामा घुम्ती शिविरमार्फत नागरिकलाई सेवा

सुशीला रेग्मी/रामपुर (पाल्पा) । रामपुर नगरपालिकाले घुम्ती शिविर आयोजना गरी गाउँ गाउँमा सेवा दिएको छ । नगरपालिकाको कार्यालयको पहुँच भन्दा पर रहेका नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्न गाउँमै पुगेर सेवा दिइरहेको छ ।

स्वास्थ्य परीक्षणसँगै नगरपालिका कार्यालयबाट प्रवाह हुने सेवा सहितको शिविरमार्फत सेवा पाउँदा नागरिक उत्साहित बनेका छन् । सानो कामका लागि नगरपालिका कार्यालयमा नै पुगेर सेवा लिदा एक दिनको समय बिताउनुपथ्र्यो यसरी घुम्ती शिविरमार्फत गाउँमै सेवा पाउँदा धेरै सजिलो भएको रामपुर ९ बस्ने स्थानीय राजन सुनार बताउँछन् ।

“सानो कामका लागि एक दिनको समय बिताएर आउन जान अति नै झमेला व्यहोर्नुपर्छ, धेरै समय बिताउनुपर्ने, अर्कोतर्फ आवतजावतमा यातायात खर्च, कहिलेकाँही भनेको समयमा काम नबन्दा अर्को दिन एउटै कामका लाग पटक–पटक धाउनुपर्दा नागरिकलाई सास्ती हुन्थ्यो, नगरपालिका कार्यालयको टोली गाउँमा आएर सबै सेवा दिदा धेरै खुशी छौँ” उनले भने ।

भूगोलका हिसावले टाढा रहेको वडालाई मध्यनजर गर्दै वडा नं. ९ बाट घुम्ती शिविर शुरु गरिएको छ । एउटै शिविरमा सबै खालका सेवा सुबिधा पाउँदा स्थानीय दङ्ग छन् । हिउँदे अधिवेशनबाट बजेट रकमान्तर भएका योजनाको सम्झौता, बैंक खाता खोल्ने, ज्येष्ठ नागरिक परिचयपत्र, अपाङ्ग परिचयपत्र वितरण, पञ्जिकरण सेवा, व्यवसाय दर्ता तथा नविकरण, कृषि तथा पशु सेवा लगायतका सेवा आँखा, कान, घाँटी तथा दन्त परिक्षण सहित अन्य स्वस्थ्य परिक्षण सेवा प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितले बताए ।

यस वर्ष नगरपालिका कार्यालयबाट दुरीका हिसाबले टाढा रहेका तीन वडामा शिविरमार्फत सेवा प्रवाह गरिने उनी बताउँछन् । यहाँ ९ नम्वर वडामा भएको शिविरमा एकैदिन ६१० सेवाग्राहीले सेवा लिएका छन् । शिविरमा स्वास्थ्य जाँच तथा ल्यावसेवा २१३ जना, आँखा तथा कान जाँच ५२२ जना, दन्त परिक्षण २१५, सामाजिक सुरक्षा भत्ताको बायोम्याट्रिक ३२ जना, बेरोजगार व्यक्ति सुचिकरण सेवा ११ जना, अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचयपत्र ११ जना, योजना सम्झौता सात, व्यवसाय नविकरण आठ र बैंक खाता खोल्ने १४, पशु सेवा एक सय ४५ र कृषि सेवा १०८ जनाले सेवा लिएका छन् ।

शिविरमा कृषकले माटो परिक्षण समेत गराएका छन् । आँखा परीक्षण गराएकामध्ये चार जनामा मोतियाविन्दुको समस्या देखिएको छ । रामपुर अस्पतालको समन्वयमा विशेषज्ञ सहितको स्वास्थ्य जाँच, पाल्पा मेट्रोसिटी अस्पतालको समन्वमा सुगर प्रेसर जाँच र कालीगण्डकी आँखा उपचार केन्द्रको समन्वयमा आँखा तथा कान परीक्षण र औषधी वितरण गरिएको छ । स्वास्थ्य शिविरमा वडा नं.९ का स्थानीयवासीसंगै भानुभक्त मावि, जनशान्ति मावि र हटल्याण्ड इङ्गलिस बोर्डिङ्का विद्यार्थीको आँखा परीक्षण गरिएको वडाध्यक्ष दिलबहादुर रानाले जानकारी दिए ।

नगरबासीको आवश्यकता तथा सेवामा सहजताका लागि शिविर सञ्चालन गरिएको हो । नगरपालिका कार्यालयबाट दुरी र पहुँचका हिसावले टाढा रहेका नगरबासीको लागि अन्य स्थानमा पनि शिविर सञ्चालन गर्ने योजना रहेको छ । नगरपालिकाले यसअघि वडामै पुगेर घुम्ती शिविरमार्फत चालु आर्थिक वर्षमा सञ्चालन हुने योजनाको सम्झौता गर्नुका साथै र बैंक खाता खोल्ने व्यवस्था मिलाएको थियो । नगरपालिकाले बैंकको पहुँचभन्दा टाढा रहेका नागरिकलाई सामाजिक सुरक्षा भत्ता वडा र टोलबाट वितरण गर्दै आएको छ ।

You might also like

Comments are closed.