इलाम । सूर्योदय नगरपालिकाले क्यान्सर रोगको जोखिम हुन नदिन विषादी प्रयोगमा कडाइ गर्न थालेको छ । नगरका किसानले तरकारी लगायत अन्य बालीमा विषादीको मात्रा बढाउन थालेपछि नगरपालिकाले कडाइ गर्न थालेको हो । नगरपालिकाले अग्र्यानिक चिया उत्पादन अभियान नै सञ्चालन गर्न किसानलाई प्रोत्साह समेत गरिराखेको छ ।
उत्पादन गरेको चियाले आफैँ रोगको सिकार हुनुपर्यो भने विश्व बजारमा बिक्री गर्न नसकिने नगरप्रमुख रणबहादुर राईले बताए । विगत बर्षदेखि अग्र्यानिक उत्पादन गर्ने भनेर अभियान चलाईएपनि तथ्याङ्कहरुले बिषादीको प्रयोग देखाएकाले अब कडाइका साथ बिषादी नियमन गर्ने उनी बताउँछन् । नगरपालिकाले गत दुई आर्थिक बर्षमा विपन्न नागरिक सहायता कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवाका लागि आर्थिक सहयोगमा लागि सिफारिस गरिएका बिरामीहरुमध्ये सबैभन्दा बढी क्यान्सर रोगी देखिएका छन् ।
आब २०७९/०८० मा सिफारिस गरिएका ५७ जना बिरामी मध्ये सबैभन्दा बढी ४० जना क्यान्सर पीडित थिए भने मिर्गाैलाका १० र मुटुका ७ बिरामी थिए । गत आबमा यो तथ्याङ्क वृद्धि भएर कुल सिफारिस संख्या ८२ पुग्यो । सो तथ्याङ्कमा पनि क्यान्सरका सबैभन्दा बढी ५० बिरामी छन् । मिर्गाैलाका २०, मुटुका ३ र टाउकोमा चोट भएका ३ जनाको स्वास्थ्य सेवाका लागि सिफारिस गरिएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख विपुल अधिकारीले जानकारी दिएका छन् ।
चालु वर्षमा यो तथ्याङ्क अझ वृद्धि हुने अनुमान छ । यी त नगरपालिकामा स्वास्थ्य सेवा पाउन माग गर्दै पेश भएका निवेदनका आधारमा उपलब्ध तथ्याङ्क मात्र हो । यसबाहेक पालिकाको सम्पर्कमा नआएर उपचार गरिरहेका वा ज्यान गुमाएका क्यान्सर पीडित धेरै छन् । सबैमा क्यान्सर रोगको कारण चियाको बिषादी मात्र नभएपनि अधिकांश कारण भने बिषादी नै भएको हुनसक्ने सूर्योदय–८ का वडाध्यक्ष जङ्ग गुरुङ्गले बताए । “क्यान्सरकै कारण मैले गत बर्ष परिवारको एक सदस्य गुमाएँ । धेरै ठाउँ डाक्टरलाई देखाउँदा बिषादीकै कारण रोग लागेको बताए” उनले भने, “झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालदेखि राजधानीका थुप्रै अस्पतालका बरिष्ट डाक्टरहरुले बिषादीलाई कारण देखाए ।”
सूर्योदयमा उत्पादन हुने सबै चिया बिषादीयुक्त छन् भन्ने होइन । कतिपय चिया बगान अग्र्यानिक पनि छन् । सूर्योदय–९ ढोडेका रामप्रसाद राईले चियाको प्राङ्गारिक खेती सुरु गर्नुभएको ६ वर्ष भयो । उनको १६ रोपनी क्षेत्रफलमा फैलिएको चिया बगानबाट दैनिक ८० किलो उत्पादन हुन्छ । “प्रतिकेजी रु एक सय एकका दरले सुन्दरपानी कृषि सहकारी संस्थालाई दिन्छौँ, उसले रु एक नाफा राखेर गोर्खा टी स्टेटलाई बेच्छ” राईले भने, “नगरपालिकाले तोकेको चियाको न्यूनतम समर्थन मूल्य प्रतिकिलो रु ४० हो, तर हाम्रो चिया प्राङ्गारिक भएकाले रु एक सयभन्दा बढी मूल्य पाएका छौँ ।”
राईमात्र होइन साङपाङ टोल ढोडेका सबै किसानले रासायनिक मलको प्रयोग छाडेर गाई–बाख्राको मल प्रयोग गरिरहेका छन् । किसान मनबहादुर राईले गाईको मल एकपटक र गहुँतबाट बनाएको ‘रक्षिन’ वर्षमा दुईपटक लगाई दिनुपर्छ, अन्य गोडमेल र सिँचाइ पुग्यो भने विषादी हालेकोभन्दा राम्रो उत्पादन पनि हुने बताए । यो टोलका विनोद मोक्तान, विमल, सुशीला, रामप्रसाद, पूर्ण र तारा राईका परिवार बिहानसाँझ चियाको गोडमेल, मलजल, सिँचाइ र टिपाइमा व्यस्त हुन्छन् ।
बेलामा पानी नपरेकाले केही ढिलो भए पनि यस वर्षको टिपाइ चैत पहिलो साताबाट सुरु हुनेछ । हरियो चिया उत्पादनको उर्वर समय चैतदेखि असोजसम्मको ६ महिना हो । नगरपालिकाले प्राङ्गारिक चिया उत्पादनको अभियान चलाइरहेको छ । ६ वर्षअघि नै चियाको कार्यविधि बनाएर न्यूनतम समर्थन मूल्य तोकेको सूर्योदयमा चियाको टिपाइ सुधार हुन नसक्दा भारतलगायत मुलुकमा नेपाली चिया बिक्रीमा समस्या छ ।
चियाको टिपाइ सुधार गर्न भन्दै नगरपालिकाले गतबर्ष तीन सय किसानलाई चिया टिप्ने हाते मेसिन वितरण गरेको थियो । नगरपालिकाको दीर्घकालीन सोचको नारा नै ‘सूर्योदय नगरपालिकाको समृद्धि, प्राङ्गारिक कृषि पर्यापर्यटन र आर्थिक समानता’ भन्ने रहेको छ । २०७५ साउन १ गते नै निषेधित विषादी मुक्त पालिका घोषणा गरी सबै १४ वडाका २५२ टोलमा सचेतना कार्यक्रम भइसकेको नगर आर्थिक विकास समितिका संयोजक देवेन्द्र आचार्य बताउँछन् ।
नगरपालिकाले चियाबाट नै आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । कार्यविधि बनाएर गुणस्तर सुधार गर्न लागिपरेको सूर्योदयले चियामा विषादीको प्रयोग रोक्न नसक्दा आलोचना खेप्नु परिरहेको छ । अर्कातिर किसानलाई प्राङ्गारिक खेतीमा आकर्षित गर्न अनुदानको कार्यक्रम छैन । प्रमुख प्रशासकिय अधिकृत अमृतबहादुर राईले ८० प्रतिशतभन्दा धेरैको आयस्रोत बनेको चियामा प्रतिकिलो रु एक अनुदान दिँदा पनि करोडौँ लगानी चाहिने बताए । नेपाली चियाको अन्तरराष्ट्रिय ‘ब्रान्डिङ’ प्रवद्र्धनका लागि सहयोग, साना किसानका लागि हरियो पत्ती उत्पादनका आधारमा उखुमा जस्तै अनुदान दिनुपर्ने माग उद्योगीले गरेका छन् ।
उद्योगी उदय चापागाईंले कृषिका अन्य क्षेत्रमा जस्तै चियामा अनुदान दिन सरकारले कञ्जुस्याइँ गर्ने गरेको जनाएका छन् । नेपालमा उत्पादित ५५ लाख तयारी अर्थोडक्स चियामध्ये तीन लाख किलोमात्र अग्र्यानिक रहेको तथ्याङ्क छ । सूर्योदय नगरपालिकामा ६२ भन्दा बढी चिया प्रशोधन उद्योग छन् । तीमध्ये सूर्योदय टी एसोसिएसनमा ५२ वटा उद्योग आबद्ध छन् । यहाँ तीन हजार हाराहारी किसानको हरियो चियापत्ती प्रशोधन गरिन्छ । यहाँका उद्योगमा सूर्योदय नगरपालिकाको मात्र होइन माइजोगमाई, रोङलगायत किसानले उत्पादन गरेको हरियो पत्ती प्रशोधनका लागि पुग्ने गरेको छ ।
यहाँको तयारी चिया भारतसहितका तेस्रो मुलुकसम्म पुग्ने गरेको छ । नेपालमा १२ हजार ६६ हेक्टरमा चियाखेती हुँदै आएको छ । देशभरमै बढी चिया उत्पादन हुने जिल्ला इलाम हो । यहाँ ६ हजार ९९५ बगान रहेका छन् । सूर्योदय नगरपालिका चियाको राजधानीका रूपमा पनि परिचित छ । देशभरका ११ हजार ४१ बगानबाट १० करोड ८० हजार किलो हरियो पत्ती उत्पादन हुनेगरेको बगान सञ्चालकहरूले बताएका छन् । रासस
Comments are closed.