चैत ८ र ९ गते हुने नेपाल उद्योग तथा व्यवसायी महासंघको महाधिवेशनको तयारी पूरा

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघको महाधिवेशन एवं औद्योगिक प्रदर्शनीको तयारी पूरा भएको छ । यही चैत ८ र ९ गते हुने तेस्रो राष्ट्रिय महाधिवेशनको अवसरमा औद्योगिक प्रवद्र्धनका लागि महासंघले पहिलो पटक औद्योगिक प्रदर्शनी सहितको महाधिवेशन गर्न लागेको हो ।

अहिलेको विषम परिस्थितीमा देशमा औद्योगिक वातावरण निर्माण गर्दै उद्योगी व्यवसायीको हितमा काम गर्ने उद्देश्य लिएर अधिवेशन गर्न लागिएको महासंघका संयोजक भागिरथ सापकोटाले जानकारी दिए । महासंघले देशभित्र रहेका लघु, घरेलु, साना, मझौलादेखि ठूला उद्योगबाट उत्पादित बस्तुहरुको बजारीकरणका लागि औद्योगिक प्रदर्शनी गर्न लागिएको महासंघका संयोजक सापकोटा बताउँछन् ।

‘लामो समयको आर्थिक मन्दीको कारण अहिले उद्योगी व्यवसायीको मनोवल खस्किदो अवस्थामा छ,’ उनले भने, ‘औद्योगिक वातावरण निर्माण गर्दै देशभित्र आर्थिक गतिविधी चलायमान बनाउनका लागि औद्योगिक प्रदर्शनी गर्न लागिएको हो ।’ महासंघले अधिवेशनको अवसरमा देशभरका उद्योगी व्यवसायी उपस्थित गराई उनीहरुले उत्पादन गरेको वस्तुलाई प्रदर्शनीमा राख्नेछ । प्रदर्शनीमा देशभरका ३ हजारभन्दा बढी उद्योगी व्यवसायीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

प्रदर्शनीमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सानादेखि ठूला उद्योगी व्यवसायीले उत्पादन गरेका वस्तुहरु रहने मेला उपसमितिका संयोजक गोपाल खनालले जानकारी दिए । ‘हामीले मेलामा साना, लघु, घरेलु देखि मझौला र ठूला गरी करिव १ सय स्टलहरु राख्दैछौ, कर्णालीमा पाइने जिम्बु, यार्चा, सिलाजित देखि पूर्वको छुर्पी, अलैची देखि चियाकफी सम्म रहनेछ’ उनले भने ।

बबरमहलस्थित कार्की बैंकेटमा हुने कार्यक्रमको उद्घाटन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको छ ।

You might also like

Comments are closed.