धरानमा पहिलो पटक राष्ट्रिय ‘फाइट नाइट’ हुने

धरान (सुनसरी) । बक्सिङ खेलको प्रवद्र्धन र नयाँ प्रतिभा उत्पादन गर्ने उद्देश्यले धरानमा पहिलो पटक राष्ट्रियस्तरको ‘आइबिए प्रो एन्ड एमेचर महिला–पुरुष फाइट नाइट २०२५’ हुने भएको छ ।

नयाँ वर्ष २०८२ को अवसर पारेर आगामी वैशाख १२ गते यहाँ कार्यक्रम आयोजना गरिएको आयोजक धरान बक्सिङ सङ्घका अध्यक्ष दीपक राईले बताए । धरानमा राष्ट्रियस्तरको यो प्रतियोगिता पहिलो पटक आयोजना गर्न लागिएको उनले जानकारी दिए । प्रतियोगितामा ‘प्रोफेसनल’ (प्रो) र ‘एमेचर’ गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा कोशी प्रदेशबाट प्रो प्रतिस्पर्धामा धरान, धनकुटा, झापा र उदयपुर तथा गण्डकी प्रदेशका पोखरा र बाग्मती प्रदेशको काठमाडौँबाट खेलाडी सहभागि हुनेछन् । एमेचर विधामा भने धरान, धनकुटा, उदयपुर र झापाका खेलाडीले सहभागिता जनाउने धरान बक्सिङ संस्थाका सचिव महेश आले मगरले जानकारी दिए ।

‘फाइट नाइट’ प्रतियोगितामा महिला र पुरुष दुवै राष्ट्रियस्तरका खेलाडीबीच प्रदेशस्तरीय प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिता धरान उपमहानगरपालिका–१५ स्थित किरात याक्थुङ चुम्लुङहिमको हलमा विभिन्न साङ्गीतिक कार्यक्रमसहित हुने संस्थाका सचिव आले मगरले बताए । रासस

You might also like

Comments are closed.