रामपुर (पाल्पा) । व्यक्तिगत घटना दर्ता सम्बन्धी सचेतना कार्यक्रम रामपुर नगरपालिका वडा नं ९ पाल्पामा सम्पन्न भएको छ । नेपाल सरकारको सप्ताहव्यापी कार्यक्रम व्यक्तिगत घटना दर्ता सप्ताह कार्यक्रम अन्तर्गत बुधवार वडा नं.९ को कार्यालय भवन जब्गादीमा सचेतना कार्यक्रम समपन्न भएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितले राज्यको नीति तथा विभिन्न कार्यक्रम तय गर्नका लागि व्यक्तिगत घटना दर्ता महत्वपूर्ण रहेको बताए । व्यक्तिलाई राज्यले दिने सेवा सुविधा र नागरिकका लागि तय गर्ने विभिन्न कार्यक्रम निर्माण गर्न सहज हुने भएकाले व्यक्तिगत घटना दर्ता अनिवार्य गर्नुपर्ने भन्दै उनले कानुनी प्रावधान अनुसार समयमै गर्न आवश्यक रहेको औँल्याए । सानो लापरवाही र अभिभावकको वेवास्ताले बालबालिकाको भविष्यमा समेत असर पुग्न सक्ने भएकाले घटना दर्ता गर्दा सचेत हुन उनको अनुरोध छ ।
वडाध्यक्ष डिलबहादुर रानाले व्यक्तिगत घटना दर्ता समयमै गर्नुपर्ने भन्दै यसले वडाले सञ्चालन गर्ने वार्षिक कार्यक्रम प्रभावकारी हुने उल्लेख गरेका छन् । साथै व्यक्तिगत घटना दर्ता सप्ताहले घटना दर्ताका लागि सहज रुपमा कार्यान्वयन गर्न सजिलो हुने उनी बताउँछन् । रामपुर–३ का वडा सचिव मदन पराजुलीले घटना दर्ता गर्दा विभिन्न त्रुटि हुने भन्दै संमयमित भएर समयमै घटना दर्ता गराउनुपर्ने बताए । जनशान्ती माध्यमिक विद्यालयका प्राधानाध्यापक ढकबहादुरले सिंजाली अविभावकविहिन बालबालिकाको जन्मदर्ता नहुँदा विद्यालयमा भर्ना गर्न समेत असहज भएको भन्दै यस्ता समस्या समाधान गर्न आवश्यक रहेको बताएका छन् ।
पञ्जिकरण शाखाका प्रमुख प्रतिमा घिमिरेले विभिन्न व्यक्तिगत घटना दर्ता गर्न छुटेमा राज्यले प्रदान गर्ने विभिन्न सेवा सुविधाबाट वञ्चित हुने भएकाले जन्मदर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद, बसाईसराई र मृत्यु दर्ता ३५ दिन भित्रै गर्नुपर्ने बताइन् । प्रमुख प्रशासकीय अधिकृत पण्डितको अध्यक्षतामा भएको कार्यक्रम पञ्जिकरण शाखाका प्रमुख घिमिरेको स्वागत र योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा सम्पन्न भएको हो ।
कार्यक्रममा वडा नं.९ का विभिन्न टोल विकास संस्था, विद्यालयका शिक्षक, स्वयम्सेविका लगायतको सहभागिता रहेको थियो । नेपाल सरकारले हरेक वर्ष बैशाख १ गते देखि ७ गते सम्म व्यक्तिगत घटना दर्ता सप्ताह कार्यक्रम गर्दै आएको छ ।
Comments are closed.