रामपुरमा कानुनी अधिकार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

रामपुर (पाल्पा) । पाल्पा रामपुरका महिलालाई महिला कानुनी अधिकार सम्बन्धी सचेतना प्रदान गरेको छ । रामपुर नगरपालिका न्यायीक समितिको आयोजनामा वडा नं. ७ का महिलालाई कानुनी सचेतना प्रदान गरेको हो ।

मंगलबार नगर प्रमुख रमणबहादुर थापाले महिलामाथि हुने हरेक हिंसालाई कानुनी उपचार मार्फत समाधान गर्नुपर्ने बताए । उनले व्यक्तिगत व्यवहार र आचरणका कारण घर परिवार र समाजमा हिंसा हुने भन्दै यसको न्यूनीकरणका लागि सबै सचेत हुनुपर्नेमा जोड दिए । हिंसारहित समाज र नगर निर्माणका लागि सबै नगरबासी प्रतिबद्ध भएर लाग्न आग्रह समेत गरेका छन् । उपप्रमुख बालकुमारी थापाले समाजमा व्याप्त हिंसाको न्यूनीकरणका लागि सचेत हुन आवश्यक रहेको बताइन् । साथै हिंसा सहेर बस्दा हिंसालाई थप बढावा मिल्ने भन्दै यसलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने जनाइन् ।

नगर आयुर्वेद शाखा प्रमुख चेमनप्रकाश पोखरेलले विकृतिले विभिन्न नकारात्मक घटना निम्त्याउने भन्दै नकरात्मक गतिविधिबाट पछाडि हट्नुपर्ने बताए । बालविवाह र बहुविवाहका कारण महिला हिंसा बढेकाले यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् । वडाध्यक्ष दोवराज तिवारीले वडामा महिला हिंसाका घटना बढ्नु चुनौतीको रुपमा रहेको बताए । महिला हिंसाका कारण आत्महत्या र सम्बन्ध विच्छेद गर्नेको संख्या बढेको उल्लेख गरे ।

योगहल किसानबारीमा भएको कार्यक्रममा हिंसाको स्रोत, यसको पहिचान, हिंसा हुनुकोे कारण र असर, कानुनी उपचारको प्रक्रिया र प्रावधान, हिंसाबाट पिडितको उद्दारको व्यवस्था, सजाय सम्बन्धी व्यवस्थाका विषयमा सहजिकरण गरिएको थियो । तालिमको सहजिकरण रामपुर नगरपालिका महिला बालबालिका शाखाका प्रमुख पुजा परियार र एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसिका फोकल पर्सन सरस्वती पौडेलले गरेका हुन् ।

उपप्रमुख तथा न्यायिक समिति संयोजक थापाको अध्यक्षतामा भएको न्यायीक समिति सदस्य खेमराज अधिकारीको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन न्यायीक समिति सचिवालय सचिव पार्वती परियारले गरेकी हुन् ।

 

You might also like

Comments are closed.