काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन स्थापना गरिएको छ । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीका लागि नयाँ रूपको प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन जडान गरिएको हो ।
जापान ऊर्जा सुरक्षा संघ जापान र नेपाल इन्जिनियरिङ कलेज बीचको संयुक्त परियोजना अन्तरगत टर्बाइन बुधबार एक कार्यक्रमका बीच स्थापना गरिएको छ । यस टर्बाइन हावा र सोलार उर्जाबाट चल्नेछ । सानो आकार, कम कम्पन र सहजरुपमै मर्मत सम्भार गर्न सकिने यसको विशेषता हो ।
विन्ड टर्बाइन ब्लेड नायलन फाइबरबाट बनेको छ । टर्बाइनले कम हावाको गतिमा पनि काम गर्ने, उच्च हावा ऊर्जा उपयोग गर्न सकिनेछ । जेनेरेटरले विशेष रोटर डिजाइनको साथ पेटेन्ट गरिएको स्थायी चुम्बक रोटर अल्टरनेटर अपनाउने भएकोले जेनेरेटरको प्रतिरोध टर्कलाई प्रभावकारी रूपमा कम गर्ने बताइएको छ ।
जापान ऊर्जा सुरक्षा संघका इन्जिनियरिङ सल्लाहकार एत्सुओ किरिहरा र जापानका लागि नेपाल प्रतिनिधि निर्देशक नरेश महर्जनले कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीलाई आवश्यक सामग्रीहरू हस्तान्तरण समेत गरेका छन् । यो प्रोजेक्टले नेकका विद्यार्थीलाई वायुउर्जा सम्बन्धी सोध अनुसन्धान गर्न महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरेको कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले बताए ।
विद्यार्थीसँगको अन्तर्क्रियात्मक प्रस्तुतिकरणमा बोल्दै जापान उर्जा संघका इन्जिनियरिङ सल्लाहकार एत्सुओ किरिहराले प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइनले विद्यार्थीको अध्ययन अनुसन्धानलाई थप परिस्कृत र बलियो बनाउने बताए ।
७२ वर्षीय किरिहरा नेपाल इन्जिनियरिङ कलेजका भिजिटिङ प्रोफेसर समेत हुन् । नेपालले जलविद्युतको विकल्पका रुपमा वैकल्पिक उर्जातर्फ अग्रसर भए दिगो विकासको लक्ष्य समेत हासिल गर्न सहयोग पुग्ने बताए ।
Comments are closed.